
विष्णु पाैडेलकाे गिरफ्तारी सरकारकाे अराजनीतिक र नाङ्गो प्रतिशाेधकाे पराकाष्ठा : एमाले

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतबाट गिरफ्तार गरिएको घटनालाई सरकारको ‘अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा’ भन्दै कडा विरोध जनाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा पौडेलको गिरफ्तारीलाई गैरकानुनी, बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा चित्रित गरिएको छ ।
एमालेले आइतबार जारी गरेको वक्तव्यमा साङ्गठनिक कार्यक्रमका शिलशिलामा सुर्खेतमा रहेका पौडेललाई सरकारले ‘अपहरणको शैलीमा’ गिरफ्तार गरेको दाबी गर्दै उक्त कदमको घोर निन्दा र भर्त्सना गरेको छ । पार्टीले विधिको शासन, कानुनी राज्य र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै वर्तमान सत्तापक्षले विपक्षी दलहरूमाथि अराजनीतिक र अलोकतान्त्रिक व्यवहार गरिरहेको आरोप लगाएको छ।
वक्तव्यमा उपाध्यक्ष पौडेल कार्यक्रम सम्पन्न गरी भोलिपल्ट काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिकामा रहेको उल्लेख गर्दै सामान्य कानुनी प्रक्रियाअनुसार सोधपुछ वा अनुसन्धान गर्न सकिने अवस्था हुँदाहुँदै गिरफ्तार गरिएको जनाइएको छ। सार्वजनिक पदमा रहिसकेका र कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई ‘सस्तो राजनीतिक खपत’ का लागि लक्षित गरिएको एमालेको आरोप छ।
एमालेले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दाबी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। साथै, सरकारका स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापविरुद्ध एकजुट हुन देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिलाई आह्वान गरेको छ।
पार्टी अध्यक्ष ओलीद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, ‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेको श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।’

