
पत्रकारहरूसँग बीमा कार्यक्रम सम्पन्न

ललितपुर, असार ४। नेपाल पत्रकार महासंघ, ललितपुर शाखाको आयोजनामा तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, जरङ्खु शाखाको संयोजनमा पत्रकारहरूलाई लक्षित “बीमा सचेतना कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।
ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लेजर पार्कमा आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध करिब ७० जना पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख व्यवसाय अधिकृत (मध्य तथा मध्यपश्चिम क्षेत्र) श्री सुनिल पोखरेल, तालिम विभाग प्रमुख श्री कुबेर पाठक तथा जरङ्खु शाखाका शाखा प्रमुख श्री विपुल पाण्डेको उपस्थिति रहेको थियो।
कार्यक्रममा जीवन बीमाको आवश्यकता, वित्तीय सुरक्षा, जोखिम व्यवस्थापन, बचत संस्कृतिको विकास, दीर्घकालीन आर्थिक योजना तथा बीमासम्बन्धी भ्रम र यथार्थका विषयमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो। साथै सहभागी पत्रकारहरूले बीमा क्षेत्रसँग सम्बन्धित जिज्ञासा राख्दै अन्तरक्रियात्मक छलफलमा सक्रिय सहभागिता जनाएका थिए।
प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी र यसका बीमालेखको बारेमा जानकारी दिनुभयो । साथै जीवन बीमाले व्यक्तिको मात्र नभई सम्पूर्ण परिवारको आर्थिक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै वित्तीय योजना र सामाजिक सुरक्षाको आधारका रूपमा बीमाको महत्वबारे प्रकाश पार्नुभयो। पत्रकार समुदाय समाजमा सूचना र जनचेतना प्रवाह गर्ने महत्वपूर्ण माध्यम भएकाले बीमासम्बन्धी सही सूचना आम नागरिकसम्म पुर्याउन पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी तालिम विभाग प्रमुख श्री कुबेर पाठकले बीमाको अवधारणा, वित्तीय अनुशासन तथा दीर्घकालीन बचतका विषयमा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमबाट सहभागी पत्रकार तथा सञ्चारकर्मीहरूमा जीवन बीमा, वित्तीय योजना र जोखिम व्यवस्थापन सम्बन्धी ज्ञान अभिवृद्धि हुनुका साथै बीमा तथा वित्तीय साक्षरताको प्रवर्द्धनमा सकारात्मक योगदान पुगेको पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरी कार्कीले बताउनुभयो ।


