
हप्ता दिनमै १७ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?



काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य घटी रहेको छ । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको हो ।
गत जेठ २२ गते शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा किनबेच भएकोमा त्यसको १ हप्तापछि अर्थात जेठ २९ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य १७ हजार रुपैयाँले घटेर २ लाख ९२ हजारमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत जेठ २४ गते आइतबार एकैदिन प्रतितोलामा ८ हजार २०० रुपैयाँले घटेर सुनको मूल्य ३ लाख ८०० रुपैयाँ कायम भएको थियो, त्यस्तै, जेठ २५ गते सोमबार सुन प्रतितोला ९०० रुपैयाँले घटेको देखिन्छ । उक्त दिन सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, जेठ २६ गते मंगलबार सुन प्रतितोलामा २ हजार रुपैयाँले बढेर उक्त दिन सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । त्यस्तै, जेठ २७ गते बुधबार भने सुनको मूल्य ह्वात्तै घट्यो । उक्त दिन सुन प्रतितोलामा १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, जेठ २८ गते बिहीबार पनि सुनको मूल्य ५ हजार १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने जेठ २९ गते शुक्रबार सुनको मूल्य बढेको थियो । उक्त दिन ५ हजार ३०० रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


