
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको नाफामा उछाल देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा नाफामा उच्च वृद्धि देखिएको हो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा ८ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोहि अवधिको भन्दा २८८.४० प्रतिशतले धेरै हो । यो अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा कम्पनीको नाफा २ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको वृद्धिका कारण कम्पनीको मुनाफामा सुधार देखिएको हो । कम्पनीले गत वर्ष १८ करोड २६ लाख १२ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । जुन अघिल्लो वर्ष १५ करोड ४९ लाख ४६ हजार रुपैयाँ मात्र थियो । अघिल्लो वर्ष १५ करोड ४१ लाख रुपैयाँभन्दा बढीले ऋणात्मक रहेको जगेडा कोष समीक्षा अवधिमा २ करोड ९० लाख ९४ हजार रुपैयाँले धनात्मक भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ६१.४७ रुपैयाँबाट सुधारिएर १०३.६४ रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ १७ पैसा रहेको छ ।
शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी ४० करोडबाट बढेर ८० करोड रुपैयाँ पुगेको छ । हकप्रदबाट प्राप्त रकमको ठूलो हिस्सा बैंकको दीर्घकालीन ऋण भुक्तानीमा उपयोग गरिएकाले कम्पनीको वित्तीय भार समेत घटेको छ । अघिल्लो वर्ष ८८ करोड २८ लाख रुपैयाँ रहेको दीर्घकालीन ऋण अहिले घटेर २९ करोड २९ लाख रुपैयाँमा झरेको छ ।
हाल ७.५ मेगावाटको अप्पर खोरुङ्गा खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले नयाँ आयोजनाको रुपमा खोरुङ्गा टाङ्माया २ आयोजना निर्माणको प्रक्रिया पनि अघि बढाएको छ ।

