
भलिबल खेलाडीको रोजाईमा रोनाल्डोको पोर्चुगल र मेसीको अर्जेन्टिना



काठमाडौं । अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरू भइसकेको छ । ३९ दिनसम्म चल्ने प्रतियोगितामा पहिलो पटक ४८ टिम सहभागी छन् ।
फुटबलको महाकुम्भले सबैको ध्यान केन्द्रित गरिरहेका बेला खेलकर्मीहरुको व्यस्तता अहिले विश्वव्यापी रुपमै अस्तव्यस्त बनेको छ । फुटबल यस्तो खेल हो, जसप्रति चासो र आकर्षण यही खेलमा लाग्नेहरुमा मात्र सीमित हुँदैन । अन्य खेलमा जीवन समर्पित गर्नेहरुलाई पनि आफूतिर तान्ने क्षमता फुटबलसँग छ । विश्वकप त चार वर्षमा एकपटक मात्र आउने विश्व फुटबलको सबभन्दा ठूलो मेला भएकाले स्वभाविक रुपमा अन्य खेलमा समर्पित खेलकर्मी पनि अबको ६ हप्ता फुटबलमा केन्द्रित भइरहेका छन् ।
नेपालमा जनस्तरमा सायद भलिबल र क्रिकेट फुटबलभन्दा लोकप्रिय छ । तर फुटबलको विश्वव्यापी लोकप्रियताले नेपालका भलिबल, क्रिकेटलगायत अन्य खेलका खेलाडी र खेलकर्मीलाई अहिले विश्वकपतिर एकोहोर्याएको छ । नेपाली महिला भलिबल टोलीले भर्खरै घरेलु कोर्टमा काभा च्याम्पियनसिप खेल्यो । तर, नेपालको लागि यो प्रतियोगिता सुखद् रहन सकेन । चौथो स्थानमा सिमित भयो । नेपालको नतिजा जस्तो भए पनि काभा च्याम्पियनसिप चलुन्जेल नेपाली खेलकुद भलिबलमय बनेको थियो ।
प्रतियोगितापछि खेलाडीहरु विश्राममा छन् । अनि समर्थकहरुलाई विश्वकप फुटबलको ज्वरोले तताउन थाल्यो । यस्तो ज्वरो जसले भर्खर काभा खेलेका भलिबल खेलाडीलाई पनि छोडेन । त्यही भएर विश्राममा रहेको महिला टोलीका खेलाडी अहिले फिफा विश्वकपमा रमिरहेका छन् । केही खेलाडी यसमा अपबाद छन् । भन्छन्, ‘हामी त विश्वकप भन्दा पनि जापानमा असोजमा हुने एसियाली खेलकुदको तयारीमा व्यस्त छौं । विश्वकपका सबै खेलहरु हेर्न समय मिल्दैन ।’
नेपाली राष्ट्रिय महिला टोलीकी ओपन स्पाइकर उषा भण्डारी थप्छिन्, ‘फुटबल त म हेरिरहेकै हुन्छु । नेपालको लिग पनि हेर्छु । विश्वकप नहेर्ने त कुरै भएन । तर, भर्खरै मात्रै जापानमा हुने एसियाली खेलकुदको लागि अभ्यास सुरु भएको छ । त्यसैले त्यतै बढी ध्यान दिएको छु ।’ उषा यो विश्वकपमा पोर्चुगलको समर्थनमा छिन् । रोनाल्डोले क्लब फुटबलमा धेरै सफलता हासिल गरेको तर, विश्वकप मात्रै जित्न बाँकी रहेकाले यही उपलब्धी हासिल गरेको हेर्न चाहन्छिन् । ‘रोनाल्डो कै कारण पोर्चुगल मन पर्छ । रोनाल्डो अनुशासित छ, उसले गर्ने मेहनत र उसको रणनीतिक खेलका कारण पनि फ्यान भएँ । पोर्चुगलले पहिलो पटक विश्वकप जितेको हेर्ने चाहना छ ।’
फुटबलले पाएको इतिहासकै सर्वोत्कृष्ट खेलाडी अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको प्रभाव विश्वव्यापी छ । उनीहरुको प्रभावले नेपाली समर्थकको मनमा पनि राज गरिरहेको छ । यही कारण हो, समाजका अन्य समूहजस्तै भलिबलको महिला टिममा पनि धेरैजसो अर्जेन्टिना र पोर्चुगलको समर्थनमा छन् ।
काभा महिला च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गर्दा प्रभावशाली प्रदर्शन गर्ने खेलाडी हुन् सुमित्रा रेग्मी । मिड ब्लकर सुमित्राले आफ्नो जिम्मेवारी मात्रै हैन, स्पाइकरको भूमिका समेत निर्वाह गर्दै नेपालको लागि अंक जोडेकी थिइन् । प्रतियोगितामा १४ नेपाली खेलाडी कोर्टमा उत्रिँदा सुमित्राकै चर्चा बढी थियो । सुमित्रा पनि जापानमा हुने भलिबलको तयारी गर्दै घरमै विश्वकप हेरिरहेकी छिन् । उनी अर्जेन्टिना र मेसीको फ्यान हुन् । ‘अर्जेन्टिना र मेसीको खेल पहिल्यैबाट हेर्ने गरेको छु । यसपटक पनि अर्जेन्टिनाले जितेको हेर्ने चाहना छ ।’
विश्वकपका अधिकांश खेल मध्यरातमा भएकाले अनुकूल भएका खेल मात्रै हेर्ने सुमित्रा बताउँछिन् । दिउसो भने एसियाली खेलकुदको तयारी र जापानमा सहभागी हुने टिमको खेल हेरेर समय बिताउने गरेको सुमित्राको योजना छ । ‘मध्यरातमा खेल हुँदा सबै हेर्न सकिँदैन । त्यसैले एसियन गेम्स खेल्ने टिमहरुकै भलिबल हेर्छु । यो सिकाइले एसियन गेम्समा धेरै सहयोग गर्छ ।’ सेटर प्रगति नाथ पनि पोर्चुगलको समर्थक हुन् । तर, मध्यरातमा खेल हुँदा खासै हेर्न नपाउने उनको गुनासो छ । बिहान नतिजा हेरेरै चित्त बुझाउने उनी बताउँछिन् ।
स्पाइकर कामना बिष्टले बहिनी (सिमरन बिष्ट)सँग घरमै विश्वकप हेर्ने योजना बनाएकी छिन् । बहिनी सिमरन भर्खेरै काठमाडौं आएकाले कामनालाई पनि राति खेल हेर्ने साथी भएको छ । ‘घरमै विश्वकप हेर्ने योजना बनाएको छु । बहिनी पनि आएकी छिन् । सजिलो हुन्छ ।’
कामना बिष्टको कामना नै रोनाल्डोको यो अन्तिम विश्वकप भएकाले पोर्चुगलले जितोस् भन्ने छ । ‘पछिल्लो विश्वकपदेखि लगातार फुटबल हेर्दै आएको छु । पोर्चुगलले जितोस भनेर कामना गरेको छु । रोनाल्डोको खेल्ने शैली निक्कै मनपर्छ,’ कामना भन्छिन् ।


