
मोबाइल नम्बर वा इमेल ठेगाना फेरिएमा तत्काल वित्तीय सेवा प्रदायकलाई जानकारी दिऔंः राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वित्तीय सचेतना सन्देश जारी गर्दै मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई तत्काल जानकारी दिन आग्रह गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू ग्राहकले दर्ता गराएको मोबाइल नम्बर वा इमेलसँग आवद्ध रहने र खातासम्बन्धी महत्त्वपूर्ण विवरण जोडिएको हुने स्मरण गराएको छ।
‘त्यसैले कुनै कारणवश तपाईंको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुपर्दछ।’ सूचनामा उल्लेख गरिएको छ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाइ समयमै नगराए खातासम्बन्धी महत्त्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोमिख रहने भएकाले जुनसुकै कारणले मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउन सचेत गराएको छ।



