
बजेटले अर्थतन्त्र पुनर्जीवनको आधार तयार : सिबिफिन



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको बजेटको स्वागत गर्दै यसले आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवद्र्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा महत्वपूर्ण आधार तयार गरेको जनाएको छ।
सिबिफिनले आइतबार जारी गरेको विज्ञप्तिमा बजेटमार्फत अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलहरूलाई हार्दिक स्वागत गर्दै मुलुकको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन बजेटले आशा र विश्वासको नयाँ आधार सिर्जना गरेको उल्लेख गरेको छ।
विज्ञप्तिअनुसार विगत केही समयदेखि मुलुकको अर्थतन्त्र सुस्त अवस्थामा रहेको, आर्थिक गतिविधिहरू अपेक्षाकृत रूपमा विस्तार हुन नसकेको, निजी क्षेत्रको आत्मविश्वास कमजोर बनेको, लगानीकर्तामा ‘पर्ख र हेर’ को मनोवृत्ति देखिएको, बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको तथा खराब कर्जाको चुनौती बढ्दै गएको अवस्थाबीच प्रस्तुत बजेटले अर्थतन्त्र र आर्थिक गतिविधिलाई पुनर्जीवित गर्ने विश्वास दिलाएको छ।
सिबिफिनले विशेषगरी कर प्रणालीमा गरिएको सुधार, उद्योग व्यवसायलाई प्रदान गरिएका सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, प्रविधि तथा पूर्वाधार विकासलाई दिइएको प्राथमिकता, ऊर्जा क्षेत्रको विकासमा जोड, लगानीमैत्री नीति तथा वातावरण निर्माणका प्रयास तथा बैंकिङ क्षेत्रमा चुनौतीका रूपमा देखिएको खराब कर्जा र गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि विशेष अधिकारयुक्त राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने सरकारको घोषणालाई ऐतिहासिक, सकारात्मक र समयसापेक्ष कदमका रूपमा लिएको जनाएको छ।
परिसंघले बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदार र संवाहकका रूपमा आत्मसात् गरेको उल्लेख गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको स्पष्ट देखिएको जनाएको छ। व्यक्तिगत आयकर छुटको सीमामा गरिएको वृद्धि, करका दरहरूको पुनरावलोकन, औद्योगिक कच्चा पदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पूँजी परिचालनका व्यवस्था जस्ता प्रावधानले समग्र आर्थिक गतिविधिमा सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरिएको छ।
त्यसैगरी बजेटले आन्तरिक तथा बाह्य लगानी विस्तार, उद्यमशीलताको विकास, रोजगारी सिर्जना, उत्पादन अभिवृद्धि तथा निजी क्षेत्रको पुनर्जागरणमार्फत अर्थतन्त्रलाई उच्च आर्थिक आत्मविश्वासतर्फ अग्रसर गराउने महत्वपूर्ण आधार निर्माण गरेको सिबिफिनको ठहर छ। सिबिफिनले बजेटमा समावेश जनमुखी तथा विकासमुखी नीति र कार्यक्रमहरूको प्रभावकारी तथा परिणाममुखी कार्यान्वयनका लागि नीतिगत स्थायित्व कायम गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई केन्द्रविन्दुमा राखेर सरकार अघि बढ्ने अपेक्षा व्यक्त गरेको छ। साथै आर्थिक पुनरुत्थान, वित्तीय क्षेत्रको स्थायित्व, दिगो विकास, लगानी विस्तार, दिगो तथा उच्च आर्थिक वृद्धि, सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र तथा समृद्ध राष्ट्र निर्माणको अभियानमा नेपाल सरकारसँग निकट सहकार्य गर्दै अभिन्न सहयोगीको भूमिका निर्वाह गर्न सिबिफिन पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।


