
सिटिजन्स बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा आकर्षक छुट पाउने



काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज (केडीसी) टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले एक छुट सम्बन्धि सम्झौता सम्पन्न गरेका छन् । सो सम्झौता अनुसार आगामी दिनमा सिटिजन्स बैंकका ग्राहकले विभिन्न छुट पाउने भएका हुन्।
सम्पन्न भएको समझदारी पत्र अनुसार आगामी दिनमा सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्। यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ मोडिनेमा बैंकको विश्वास छ।
हालसम्म बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । त्यस्तै, डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिन्छ।
सिटिजन्स बैंक इन्टरनेशनलले देशैभरी फैलिएका आफ्ना एक सय ९४ वटा शाखा, एक सय ५७ वटा एटिएम, तीन विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु दिइरहेको छ । अहिले ५७ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले यही आर्थिक वर्षमा थप तीन शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जानकारी दिएको छ।

