
नेपालको शानदार जित, अमेरिकामाथि १२२ रनको फराकिलो विजय



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि १२२ रनको शानदार जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमा समेटिएको हो।
अमेरिकाका लागि सन्जय कृष्णमुर्तिले सर्वाधिक ५६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। शयान जहांगिरले २७, शेहान जयसुरियाले २६, कप्तान शैतेजा मुक्कामुल्लाले २२ तथा नेत्र केन्जिगेले २९ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले समान २–२ विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो।
नेपालका लागि इशान पाण्डेले ८४ रनको उत्कृष्ट इनिङ्स खेले। उनले ८३ बलमा ८ चौका र एक छक्का प्रहार गरे। इशानले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन्। उनले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ११० रनको महत्वपूर्ण साझेदारी गरे।
कप्तान रोहित पौडेलले ५९ बलमा ४६ रन बनाए। ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए। आसिफले ४३ तथा कुशलले २९ रन बनाए।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ५९ रन जोडे। उनले ४ चौका र ४ छक्का प्रहार गरे। गुल्सन झाले १५ रन बनाए भने आरिफ शेख १७ रनमा अविजित रहे। अमेरिकाका लागि शुभम रञ्जनेले २ विकेट लिए भने मिलिन्द कुमार र रुशिल उगर्कारले समान एक–एक विकेट लिए।


