
सेयर बजारमा १३ अंक बढीको गिरावट, बजार पुँजीकरण ४६ खर्ब ५९ अर्बमा सीमित



काठमाडौं । यस साता नेप्से परिसूचक करिब १४ अंक घटेर बन्द भएको छ । गत साता २७४५.६५ विन्दुमा बन्द भएको नेप्से, यो साता ०.५० प्रतिशत अर्थात १३.७१ अंक घटेर २७३१.९४ विन्दुमा बन्द भएको हो ।
यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इण्डेक्स ०.२२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक घटेको छ । नेप्से घटेपनि यस साता कारोबार रकम भने सामान्य बढेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ४२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ६९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ७.९० प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ९.०८ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ४.८३ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ०.५० प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ८२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २३ अर्ब रुपैयाँ घटेर ४६ खर्ब ५९ अर्ब रुपैयाँमा सीमित भएको छ । १३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस साता व्यापार उपसमूहको परिसूचक ०.९५ प्रतिशत बढेको छ । गत साता ३७५६.६६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३५.५१ अंक बढेर ३७९२.१७ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ ।
कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस साता सर्वाधिक १.७९ प्रतिशत घटेको छ । गत साता ७९३८.१२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४२.०४ अंक घटेर ७७९६.०८ विन्दुमा झरेको छ ।


