
आधा जनसंख्या बीमाको दायरा बाहिर हुनु हाम्रा लागि ठुलो चुनौती : कार्यकारी निर्देशक सुवेदी



काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले आधा जनसंख्या बीमाको दायरा बाहिर रहनु प्राधिकरणका लागि ठूलो चुनौति रहेको बताएका छन् । प्राधिकरणको ५७ औं वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गरेको अवसरमा सुवकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले अध्यक्ष सञ्चालक, बीमक, बीमित, बीमा मध्यस्थकर्ता, प्राधिकरणका सहकर्मी कर्मचारी मित्रहरू एवं समस्त सरोकारवालाहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । बार्षिकोत्सवको अवसरमा सुवेदीले चैत मसान्तसम्म कुल जनसंख्याको ५०.३१ प्रतिशतमा जीवन बीमाको पहुँच पुग्नु, कुल लगानी रु. ९ खर्ब ६ अर्ब नाघ्नु र बीमकहरूको वित्तीय विवरण समयमै स्वीकृत भई वित्तीय अनुशासन कायम हुनुले बीमा क्षेत्रको परिपक्वता र हाम्रो सामूहिक प्रयासको सार्थकतालाई पुष्टि गरेकोे बताएका छन् ।
तथापि, अझै करिब आधा जनसंख्या बीमाको दायरा बाहिर रहेको अवस्था हाम्रा लागि ठुलो चुनौती र जिम्मेवारी पनि हो । आगामी दिनमा प्राधिकरणको व्यवस्थापकीय नेतृत्वका तर्फबाट बीमा सेवालाई प्रविधिमैत्री बनाउन डिजिटल रूपान्तरणमा विशेष जोड दिइनेछ। संस्थागत सुशासन र नियमनकारी प्रभावकारितालाई सुदृढ बनाउँदै बीमा बजारलाई थप सुरक्षित र मर्यादित बनाउन हामी निरन्तर क्रियाशील रहने उनले बताएका छन् ।
प्राधिकरणको यस गरिमामय यात्रामा अहोरात्र खटिने अर्थ मन्त्रालय, सञ्चालक समिति, कर्मचारी साथीहरू, बीमा क्षेत्र एवम् सम्पूर्ण विकास साझेदारहरूको सहयोग र समन्वयप्रति आभार व्यक्त गरेका छन् । आगामी दिनमा हामी सबैको एकजुट प्रयासबाट नेपाली बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी, विश्वसनीय र दीगो बनाउन सकिनेछ भन्ने पूर्ण विश्वास उनले लिएका छन् ।


