
१० वर्षीया बालिका माथि दुई जना मिलेर जबरजस्ती करणी



पर्सा । पर्सा जिल्लाको सखुवा प्रशौनी गाउँपालिका–५, बलुवा टोलमा एक हृदयविदारक र गम्भीर घटना सार्वजनिक भएको छ। स्थानीय स्रोतका अनुसार, १० वर्षीया बालिका माथि दुई जना मिलेर जबरजस्ती करणी गरेको आरोप लागेको छ।
पीडित बालिकाका बुवा का अनुसार, घटना २०८२ साल चैत १७ गते दिउँसो करिब १ बजे भएको हो। आरोपितहरूले बालिकालाई फकाएर आफ्नो घरतर्फ लगेर पटक–पटक जबरजस्ती करणी गरेको बताइएको छ। घटनापछि गरिएको स्वास्थ्य परीक्षण (Medical Report) मा समेत जबरजस्ती करणी भएको पुष्टि भइसकेको छ, जसले घटनालाई थप गम्भीर बनाएको छ।
उक्त घटनापछि २०८२ साल चैत १८ गते औपचारिक रूपमा जाहेरी दर्ता गरिएको छ। यस घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका रुपेश यादव र लडु यादव (कजन दाजुभाइ) फरार रहेका छन् र उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ। घटनापछि पीडित परिवारले न्यायको अपेक्षा राख्दा, समाजकै केही व्यक्तिबाट धम्की, दबाब तथा घटना लुकाउने प्रयास भइरहेको आरोपसमेत लागेको छ।
पीडित पक्षका अनुसार, मुचुल्का लिन गएको प्रहरी टोलीलाई समेत गाउँका केही व्यक्तिहरूले अवरोध गर्दै फर्काएको बताइएको छ, जसले घटनामा निष्पक्ष अनुसन्धानमा चुनौती थपिएको देखिन्छ। स्थानीय स्तरमा जातीय तथा सामाजिक दबाबका कारण घटना दबाउने प्रयास भएको र पीडित परिवारलाई झन् मानसिक तथा सामाजिक पीडा दिइएको अवस्था रहेको जनाइएको छ।
यस घटनाले समाजमा बालबालिका र महिलाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने, कानुन कार्यान्वयन र सामाजिक उत्तरदायित्वमाथि पनि ठूलो चिन्ता व्यक्त गरिएको छ। हाल पीडित परिवारले दोषीहरूलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न तथा निष्पक्ष न्याय दिन सम्बन्धित निकायसँग माग गरेका छन्।


