
सरकारको १०० कार्यसूचीले लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने छ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीले मुलुकको शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउँदै निजी क्षेत्रसँगको सहकार्यमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी तथा राजस्व वृद्धि गर्दै मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढाउन महत्वपूर्ण आधार तयार गरेको बताएका छन् । सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० कार्यसूची सार्वजनिक भएपछि अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
अध्यक्ष ढकालले विशेषगरी सेवा प्रवाहलाई डिजिटल, सहज र समयबद्ध बनाउने, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको संरक्षण तथा प्रवद्र्धन, तथा उद्यमशीलता विकासजस्ता विषयहरू समेटिनु सकारात्मक भएको बताएका छन् ।
महासंघले उठाएका धेरै विषयहरू यस कार्यसूचीमा समावेश हुनु थप उत्साहजनक भएको उनको भनाइ छ । ‘हामी यस सुधार एजेण्डालाई स्वागत गर्दछौं । यसको प्रभावकारी कार्यान्वयनबाट आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना र दिगो विकासमा ठोस योगदान पुग्ने विश्वास लिएका छौं,’ उनले भने, ‘यस ऐतिहासिक पहललाई सफल बनाउन सरकार र निजी क्षेत्रबीच अझ सशक्त सहकार्य अपरिहार्य छ । त्यसका लागि हामी पूर्ण रूपमा प्रतिबद्ध छौं ।’


