
सामाजिक सुरक्षा कोषमा १ खर्ब ४ अर्ब पुग्यो योगदान रकम, कहाँ भएको छ लगानी ?



काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताहरुको १ खर्ब ४ अर्ब १० करोड भन्दा बढी रकम जम्मा भएको छ । माघमा यस कोषमा १ खर्ब १ अर्ब ९७ करोड रुपैयाँ जम्मा थियो । २०७५ को मंसिर ११ गते सामाजिक सुरक्षा योजनाहरुको औपचारिक आरम्भ भएको थियो । यसले योगदानकर्ताहरुबाट रकम संकलन गर्न २०७६ साउन १ गतेदेखि थालेको हो ।
सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभुत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गरिन्छ । यसमा ११ प्रतिशत श्रमिक स्वयंले र २० प्रतिशत रोजगारदाताले बुझाउनुपर्ने हुन्छ । त्यसका अतिरिक्त योगदानकर्ताले आफ्नो इच्छाअनुसार योगदान रकम थप्न पनि सक्छन् ।
कोषमा जम्मा हुने रकम दिनप्रतिदिन बढ्दै गएको छ । सामाजिक सुरक्षा कोषले सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरुको निक्षेप, म्युचुअल फन्ड, डिबेन्चर आदिमा लगानी समेत गरेको छ । योगदानकर्तालाई सापटीका रुपमा पनि लगानी भइरहेको छ ।
सामाजिक सुरक्षा कोषमा श्रमिक वा योगदानकर्ताको विभिन्न क्षेत्र छुट्याएको छ । यसमा औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारी गरी ४ वटा क्षेत्र छुट्याइका छन् । यो कोषमा आवद्ध हुने योगदानकर्ताले औषधिउपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरेर ४ वटा योजनाबाट लाभ लिन सक्दछन् ।
अहिले कोषमा आवद्ध भएका योगदानकर्ताहरुको सङ्ख्या २८ लाख ४५ हजार ९३३ पुगिसकेको छ । सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार १८१ पुगेका छन् । कुल दावी भुक्तानी १९ अर्ब १७ करोड २२ लाख रुपैयाँ रहेको छ ।

