
जेनजी आन्दोलनमा दमन गर्नेमाथि कार्वाहीको सिफारिस,गल्ती गर्नेहरु माथि अभियोग लागेको छ



काठमाडौं । काठमाडौं भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनबारे जाँचबुझ गर्न बनेको आयोगले दमन र आगजनीमा संलग्नहरूमाथि कार्वाहीको सिफारिस सहितको प्रतिवेदन बुझाएको छ। आइतबार मन्त्रीपरिषद्को कार्यालय पुगेर आयोगका अधिकारीहरूले प्रतिवेदन बुझाए।
आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन बुझेर प्रधानमन्त्री कार्यालयबाट बाहिरिइसकिन्। आयोगका अधिकारीहरू समेत बाहिरिइसकेका छन्।
प्रतिवेदन बुझाएपछि आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले २०८२ को प्रतिवेदनले २३ भदौमा गम्भीर सुरक्षा चुक भएको औंल्याएको बताएका छन् ।
आन्दोलनको दिन सुरुवातदेखि नै सुरक्षा कमजोरी देखिएको निष्कर्षसहित त्यसमा सम्बद्धलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सिफारिस गरिएको छ ।
शर्माले संसद् भवन परिसरमा सुरुदेखि नै कमजोरी देखिएको बताए । उनले भने, ‘संसद् भवन परिसरमा ब्यारिकेड राख्नेदेखि लिएर सबै कुरामा कमजोरी भएको छ । २३ भदौमा प्रहरीले निषेधित सुरु हुने एभेरस्ट होटलअगाडि नै प्रदर्शनकारीलाई रोक्नुपर्थ्यो । तर, कमजोर सुरक्षा तयारीका कारण उनीहरु ब्यारिकेड तोडेर अगाडि बढेका थिए । ‘
गल्ती गरेकाहरुलाई कारबाहीको सिफारिस गरेको बताउदै उनले भने गल्ती गर्नेहरु माथि अभियोग लगाइएको छ ।
उनले मूल प्रतिवेदन करिब नौ सय पृष्ठको रहेको र अनुसूचीहरूसमेत गरेर गरेर १० हजार बढी पृष्ठ रहेको बताए। उनले २ सय बढीको बयान भएको र प्राप्त प्रमाणको आधारमा आयोगले भदौ २३ र २४ को घटनामा दोषी देखिएकाहरूमाथि कार्वाहीको सिफारिस गरेको बताए। तर उनले को-कोमाथि कार्वाहीको सिफारिस भएको छ भन्ने खुलाएनन्।
उनले अब प्रतिवेदन सरकारको सम्पत्ति भएको र यसको कार्यान्वयन सरकारले गर्ने बताए। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन सार्वजनिक गर्ने बताइरहेकी छिन्। प्रतिवेदन सार्वजनिक गर्न मन्त्रीपरिषद्को बैठकमार्फत निर्णय गर्नुपर्छ।
जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएपछि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको थियो। तीन महिना समय दिएको आयोगको पटक पटक म्याद थपेर करिब ६ महिना पूर्याइयो। निर्वाचन अगाडि नै प्रतिवेदन सार्वजनिक गर्न माग भए पनि सरकारले आयोगको म्याद बढाएर फागुन २४ पूर्याएको थियो।

