
अघिल्ला चुनाव जितेका राप्रपाका दिपक सिंह रास्वपाभन्दा करिब २० हजार मतले पछाडि



काठमाडौं । बागमती प्रदेशअन्तर्गत मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतमले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गौतमले २२ हजार ४१४ मत प्राप्त गरी आफ्ना प्रतिस्पर्धीलाई निकै पछाडि पारेका छन् ।
यस क्षेत्रमा दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार रामेश्वर राना मगरले ४,७२७ मत मात्र प्राप्त गरेका छन् । गौतम र मगरबीचको मतान्तर झण्डै १७ हजारभन्दा बढी पुगिसकेको छ । यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ४,३२० मतका साथ तेस्रो स्थानमा छिन् ।
अन्य उम्मेदवारहरू उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले ३,३८६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले २,६१३ मत र नेपाल कम्युनिष्ट पार्टीका विजय गौतमले १,६४३ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ (महर्जन) ५१५ मतमा सीमित छिन् ।
जारी मतगणनाको यो प्रारम्भिक परिणामले मकवानपुर-१ मा परम्परागत राजनीतिक शक्तिहरूलाई पन्छाउँदै नयाँ शक्तिको रूपमा रास्वपाले बलियो उपस्थिति जनाएको संकेत गरेको छ । अघिल्लो चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले चुनाव जितेका थिए ।

