
शंकरलाई उषाकिरणको व्यङ्ग्य : राजीनामाको स्ट्याटस आउनुपर्थ्यो कमरेड



काठमाडौं । नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सेनाले पार्टीका महासचिव शंकर पोखरेलले पदबाट राजीनामा दिनुपर्ने बताएकी छन् । दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सदस्य उम्मेदवार रहेका पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्यसँग पराजित हुने सुनिश्चित भएसँगै तिम्सेनाले शंकरको राजीनामा मागेकी हुन् ।
बिहान पोखरेलले आफ्नो हार स्वीकार गरिसकेका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत हार स्वीकार गर्दै आफ्ना प्रतिद्वन्द्वीलाई बधाई समेत दिएका छन् । सो स्ट्याटसमा जवाफी लेख्दै तिम्सेनाले पोखरेललाई नैतिकता देखाउन माग गरेकी छन् ।
उनले लेखेकी छन्, ‘ आफ्नो जिम्मेवारीबाट राजीनामा लेखेर यो स्ट्याटस लेख्नु पर्थ्यो कमरेड। राजनीतिमा सबैभन्दा ठुलो कुरा नैतिकता हो ।
समाजबाट पुरै बेखबर तपाईँ र सिङ्गो कमिटीले आफ्नो पुनसंरचना र पुनर्गठन गर्नु जरुरी छ । तपाईँको पुस्ता सामान्य असफल मात्रै होइन, यो सर्वनाशको कारण पनि हो ।
खासमा बस्तुगत भएर मात्र अगाडी बढ्न वा नबढ्न सकिन्छ । आगे जो इच्छा कमरेड । ’

