
सानिमा जीआईसीले ६ महीनामा गर्यो २७ करोडको व्यवसाय



काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार सो अवधिमा कम्पनीले २७ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरेको हो।
गत आवको पुस मसान्तसम्म २८ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा २७ करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको हो। यद्यपि यो गत आवको तुलनामा २.१० प्रतिशतको सामान्य गिरावट हो।
समीक्षा अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ४२.८० प्रतिशतले घटेको छ भने कुल आम्दानी १९.२५ प्रतिशतले घटेको छ। आम्दानी घटे तापनि कम्पनीको कुल खर्च भने ३४.५३ प्रतिशतले बढेको छ भने अभिकर्तालाई दिइने कमिशन बापतको रकम ७८.५० प्रतिशतले वृद्धि भएको छ।
गत आवको पुस मसान्तसम्म १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालू आवको पुस मसान्तसम्म भने ९ करोड ५९ लाख रुपैयाँ खुद घाटामा रहेको छ। प्रतिशेयर आम्दानी पनि १२.७१ रुपैयाँबाट घटेर ८.९२ रुपैयाँ ऋणात्मक भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४५.६१ रुपैयाँ रहेको छ।
चु्क्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा ७५ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ र जगेडा कोषमा ८ करोड ४८ लाख रुपैयाँ सञ्चित रहेको छ।

