
असम्भव भयो गगनको सर्वसम्मत बन्ने चाहना
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा १५औँ महाधिवेशनबाट सर्वसम्मत सभापति बन्न चाहन्थे । असोज १८ गते महाधिवेशन उद्घाटन सत्रमा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरेसहित नेताहरूले १५औँ महाधिवेशनबाट थापा पुनः सर्वसम्मत सभापति बन्ने बताएका थिए । तर, गत पुसमा विशेष महाधिवेशनबाट सभापति बनेका थापाविरुद्ध मंगलबार काठमाडौँका श्यामकृष्ण खड्की र बर्दियाका किशोरसिंह राठौँरले सभापतिमा उम्मेदवारी दिए ।
राठौँर १४ औँ महाधिवेशनमा खस आर्यतर्फ सहमहामन्त्री निर्वाचित भएका थिए भने निवर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस बनाएको बेलामा भ्रातृसंस्था नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए । उनी पटक–पटक प्रतिनिधि सभा सदस्य बनेकाले उम्मेदवारी दिनु स्वाभाविकजस्तै देखियो । तर, कांग्रेसको केन्द्रको राजनीतिमा अहिलेसम्म देखिँदै नदेखिएका काठमाडौँका खड्कीले एकाएक सभापतिमा उम्मेदवारी दिएपछि कांग्रेसमा खैलाबैला मच्चियो ।


