
खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको छ, अनावश्यक सञ्चय नगर्नुस् : आयाल निगम



काठमाडौं । पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यास अभाव भन्दै फैलिएको हल्ला निराधार रहेको भन्दै नेपाल आयल निगमले तथ्यांक सार्वजनिक गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले तथ्यांक सार्वजनिक गर्दै देशमा ग्यास आपूर्ति मागभन्दा बढी भइरहेको जानकारी दिएका हुन् ।
देशमा ग्यास आपूर्ति मागभन्दा बढी रहेको तथ्यांक सार्वजनिक गर्दै उनले उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन् । कार्यकारी निर्देशक भट्टका अनुसार नेपालमा दैनिक औसत ९० बुलेट (करिब १ लाख १४ हजार सिलिन्डर) ग्यासको माग रहेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पछिल्ला दिनमा उक्त परिमाणभन्दा धेरै बढी ग्यास लोडिङ भइरहेको उनले बताए ।
भट्टले गत शनिबार १ सय १८ बुलेट अर्थात् १ लाख ४९ हजार ५ सय सिलिन्डर ग्यास लोडिङ भएको बताए । त्यसैगरी सोमबार १ सय १५ बुलेट अर्थात् १ लाख ४५ हजार ७ सय सिलिन्डर र मंगलबार १ सय ३२ बुलेट अर्थात् १ लाख ६७ हजार ३ सय सिलिन्डर ग्यास लोडिङ भएको उनको भनाइ छ ।


