
सानिमा रिलायन्स लाइफको नगद लाभांश सेयरधनीको खातामा



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश खातामा जम्मा गरेको छ । कम्पनीको पुस २४ गतेको ९औं वार्षिक साधारण सभाले पारित गरेको लाभांश सेयरधनीलाई वितरण गरिएको हो ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको थियो । प्रस्ताव पारित भएसँगै सम्बन्धित सेयरधनीको डिम्याट खातामा उपलब्ध बैंक खातामा पुस २४ गतेदेखि नै नगद लाभांश वितरण गरेको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ११ गते बूक क्लोज गरेको थियो । बूक क्लोजको आधारमा पुस ९ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्रै लाभांश पाउनेछन् । साथै पुस ९ गतेसम्म सेयर धितो राखेर कर्जा लिएको सेयरधनीले कर्जा लिएको संस्थाबाट एनओसी वा लाभांश फुकुवा पत्र पेश गरेपछि मात्रै बैंक खातामा लाभांश पठाइने कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

