
साझा पावरको तेस्रो साधारणसभा सम्पन्न



काठमाडौं । साझा पावर कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौंमा सम्पन्न भएको छ। अध्यक्ष कुवेरमणी नेपालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्दै लेखा परीक्षण प्रतिवेदनसहित आषाढ ३२, २०८२ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गरेको छ। साथै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोकिएको छ।
सभाले तल्लो बलेफी जलविद्युत आयोजनाका लागि ३०५.९८ करोड रुपैयाँ बराबरको अल्पकालीन तथा दीर्घकालीन ऋण अनुमोदन गरेको छ। यससँगै आयोजनासम्बन्धी विस्फोटक पदार्थ, सिभिल, टनेल तथा इलेक्ट्रोमेकानिकल कार्यका ठेक्का/सम्झौताहरू पनि स्वीकृत भएका छन्। कम्पनीको उद्देश्यअनुसार आवश्यक चल–अचल सम्पत्ति खरिद–बिक्री गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।
त्यस्तै, शेयर खरिद–बिक्री तथा अन्य कार्यका लागि विद्युत नियमन आयोगलगायत नियामक निकायबाट स्वीकृति लिनुपर्ने अवस्थामा आवश्यक कदम चाल्न, वार्षिक साधारणसभाबाट पारित निर्णय कार्यान्वयनका क्रममा कानुनी अड्चन आएमा प्रबन्धपत्र/नियमावली संशोधन गरी बाधा–अड्काउ फुकाउन सञ्चालक समितिलाई अधिकार दिइएको छ।
अध्यक्ष नेपालले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर सहयोग गर्ने शेयरधनी, सञ्चालक र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै २४ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम तीव्र गतिमा अघि बढेको जानकारी दिए। उक्त आयोजनामा रिडी पावर कम्पनी लिमिटेडको ५५ प्रतिशत लगानी रहेको छ।

