
वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारले लिए श्रम स्वीकृति

काठमाडौं । रोजगारीका लागि विदेश जानका लागि ७० हजार भन्दा बढीले श्रम स्वीस्कृति लिएका छन् । पुनः श्रम स्वीकृति सहित साउन महिनामा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका हुन् ।
श्रम स्वीकृति लिनेमध्ये ६० हजार ४७२ पुरूष र ९ हजार ९६९ महिला छन् । एक महिनाको अवधिमा ४२ हजार ६९३ जनाले श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । एक महिनामा म्यानपावर मार्फत २९ हजार ४ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन् भने १२ हजार ४४२ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । त्यस्तै ‘जीटुजी’ मार्फत ७१२ ले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
साउनमा सबैभन्दा बढीले यूएईका लागि श्रम स्वीकृति लिएका छन् । एक महिनामा यूएईका लागि १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । त्यस्तै मलेसियाका लागि १२ हजार ४९८, कतार १० हजार ३६० र साउदी अरब जान ८ हजार ६ सय १३ जनाले श्रम स्वीकृति लिएका छन् ।
गत असारमा ६९ हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका थिए । गत आर्थिक वर्ष २०८२÷८३ मा ७ लाख ९२ हजार १८७ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

