
नेपालमै रोजगारी सृजना गर्ने हाम्रो प्रयास छः अध्यक्ष ढकाल



नवलपरासी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमै रोजगारी सृजना गर्ने आफूहरुको प्रयास रहेको बताएका छन् ।
नवलपुरको गैँडाकोटमा शुक्रबारदेखि सुरु चौथो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै ढकालले वैदेशिक रोजगारीमा जाने बाध्यता अन्त्य गर्न पहल गरिरहेको बताए । “हाम्रो प्रयास सकेसम्म स्वदेशमै रोजगारी सृजना गरौँ र यो वैदेशिक रोजगारीमा जाने बाध्यतालाई अन्त्य गरौँ भन्ने हो”, उनले भने, “उद्योगी व्यवसायीले व्यक्तिगत फाइदाका लागि मात्रै नभइ रोजगारी सृजना गर्न र राष्ट्रको विकासका लागि काम गर्दै आएका छन् ।”
नेपालको धार्मिक, सांस्कृतिक र पर्यटकीय धरोहरलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले यसका लागि निजी क्षेत्र हर बखत तयार रहेको बताए । आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न २५० व्यापारिक स्टल रहेको महोत्सव मूल समिति संयोजक छवि कँडेलले बताए ।
महोत्सव परिसरलाई सुरक्षित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करिब रु २५ करोड कारोबार हुने अपेक्षा गरिएको कँडेलको भनाइ छ ।
आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले स्थानीय कृषि उपजको बजारीकरण र प्रवद्र्धन गर्नका लागि कृषकले उत्पादन गरेको कृषि उपजको निःशुल्क प्रदर्शनी गर्न दिइएको बताए । महोत्सव अवधिमा स्थानीय पर्यटन प्रवद्र्धनका लागि विभिन्न गोष्ठी तथा सेमिनारको आयोजना गरिएको सापकोटाको भनाइ छ ।

