
यात्रु सुरक्षालाई प्राथमिकता दिँदै इन्ड्राइभको ‘सेफ्टी टुल्स’ सार्वजनिक



काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले सेफ्टी टुल्स सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच इन्ड्राइभले नागरिकको यात्रालाई सुरक्षित बनाउन सेफ्टी टुल्स सार्वजनिक गरेको हो ।
इनड्राइभका सेफ्टी टुल्स नेपालकी ब्रान्ड एम्बासडर अभिनेत्री स्वस्तिमा खड्काले सार्वजनिक गरेकी हुन् ।
इन्ड्राइभले एपभित्रै प्रयोग गर्न मिल्ने विभिन्न सेफ्टी टुल्स उपलब्ध गराएको छ । जसअन्तर्गत ‘सेयर योर राइड’ फिचरमार्फत यात्राको लाइभ लोकेसन र विवरण आफन्त वा विश्वासिलो व्यक्तिसँग सेयर गर्न सकिने व्यवस्था गरिएको छ ।
यस्तै, आपतकालीन अवस्थामा प्रयोग गर्न मिल्ने एसओएस बटन राखिएको छ, जसबाट सिधै प्रहरी वा पूर्वनिर्धारित सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
ड्राइभर तथा यात्रु दुवैको प्रोफाइल भेरिफिकेसन प्रणालीमार्फत नाम, गाडीको विवरण, नम्बर प्लेट, रेटिङ तथा पूरा गरिएका यात्राहरू हेरेर सुरक्षित छनोट गर्न सकिने व्यवस्था गरिएको इन्ड्राइभले जनाएको छ ।
कुनै समस्या आएमा २४ सै घण्टा इन्ड्राइभको सपोर्ट टिमबाट सहयोग लिन सकिने सुविधा पनि उपलब्ध छ । साथै, केही क्षेत्रहरूमा यात्राको सुरुवातदेखि अन्त्यसम्म बीमा सुविधा समेत प्रदान गरिएको छ ।
ड्राइभरहरूको सुरक्षालाई थप बलियो बनाउन इन्ड्राइभले ‘सेफ्टी फर्स्ट’ तालिम कार्यक्रमअन्तर्गत विभिन्न साझेदारहरूसँग मिलेर व्यवहारिक तालिम पनि दिँदै आएको जनाएको छ ।
इन्ड्राइभका अनुसार यात्राअघि ड्राइभरको विवरण जाँच गर्ने, यात्राका क्रममा राइड सेयर गर्ने र आवश्यक परे एसओएस बटन प्रयोग गर्ने तथा यात्रापछि कुनै गुनासो भए सपोर्ट टिममा रिपोर्ट गर्ने माध्यमबाट प्रयोगकर्ताहरूले यी सेफ्टी टुल्स प्रभावकारी रूपमा प्रयोग गर्न सक्नेछन् ।
इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले भनिन्, “सेफ्टी भनेको इन्ड्राइभको फिचर्स मात्र होइन, नागरिकप्रतिको हाम्रो उत्तरदायित्व हो । त्यसैले प्रयोगकर्ताहरूले निर्धक्क भएर इन्ड्राइभ प्रयोग गर्न सकून् भन्ने हाम्रो लक्ष्य हो।”

