
कस्तो छ लक्ष्मी सनराइज बैंकको वित्तीय अवस्था ?

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
समीक्षा अवधिमा बैंकले ३३ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ३८.०४ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
साथै, असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.८९ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.७२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २०.३७ प्रतिशत घटेको छ।
बैंकको इम्पेरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँबाट बढेर ५४ करोड ११ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ६२ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा रहेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.१३ गुणा रहेको छ ।
सात अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ । बैंकले असोज मसान्तसम्ममा १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


