
आईएमएफको रिपोर्टस् नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने, मुद्रास्फीति ४.९ प्रतिशत पुग्ने प्रक्षेपण
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको पछिल्लो ‘वर्ल्ड इकोनोमिक आउटलुक (अप्रिल २०२६)’ अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.० प्रतिशत रहने अनुमान गरिएको छ। विश्व अर्थतन्त्रमा देखिएका उतारचढाव र भूराजनीतिक तनावका बाबजुद नेपालको आर्थिक वृद्धिदरमा भने क्रमिक सुधार हुने संकेत देखिएको छ। आईएमएफको तथ्यांक अनुसार सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ३.४ प्रतिशत रहेकोमा सन् २०२६ मा यो बढेर ४.० प्रतिशत पुग्ने अनुमान छ।
त्यस्तै, आगामी वर्ष सन् २०२७ मा नेपालको आर्थिक वृद्धिदर अझ सुधार भई ४.२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदन अनुसार नेपालमा उपभोक्ता मुद्रास्फीति (महँगी) मा भने केही चाप पर्ने देखिएको छ। सन् २०२५ मा ८.५ प्रतिशत रहेको महँगी दर सन् २०२६ मा घटेर ६.४ प्रतिशतमा झर्ने अनुमान गरिए पनि सन् २०२७ मा यो पुनः बढेर ८.४ प्रतिशत पुग्ने प्रक्षेपण छ।
यसले सर्वसाधारणको जीवनस्तर र दैनिक उपभोग्य वस्तुको मूल्यमा केही असर पार्न सक्ने संकेत गर्दछ। चालु खाता घाटातर्फ हेर्दा, नेपालको बाह्य क्षेत्रको स्थितिमा थोरै उतारचढाव आउने देखिएको छ। सन् २०२५ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ०.९ प्रतिशत बचतमा रहेको चालु खाता सन् २०२६ मा १.१ प्रतिशत घाटामा जाने अनुमान छ।
तर, सन् २०२७ सम्ममा यो घाटा घटेर जीडीपीको ०.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ। अन्तर्राष्ट्रिय स्तरमा मध्यपूर्वमा उत्पन्न द्वन्द्वलगायतका भूराजनीतिक तनाव, इन्धनको मूल्यमा भएको वृद्धि र आपूर्ति श्रृंखलामा आएको व्यवधानले विश्व अर्थतन्त्रलाई नै प्रभावित बनाएको छ। यी बाह्य जोखिमहरूका बाबजुद नेपालसहितका उदीयमान तथा विकासोन्मुख एसियाली अर्थतन्त्रहरूले तुलनात्मक रूपमा सुधारको दिशा पक्रिने आईएमएफको प्रतिवेदनले देखाउँछ। विशेषज्ञहरूका अनुसार नेपालले आर्थिक स्थितिलाई थप सुदृढ बनाउन आन्तरिक उत्पादन वृद्धि, पूँजीगत खर्चमा सुधार र बाह्य जोखिमहरूबाट जोगिन उपयुक्त वित्तीय तथा मौद्रिक नीति अपनाउनु आवश्यक देखिन्छ।
त्यसतै,आईएमएफका अनुसार सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ। यो सन् २०२५ मा अनुमान गरिएको ३.५ प्रतिशतको वृद्धिभन्दा कम हो। सन् २०२७ मा भने विश्व आर्थिक वृद्धिदर पुनः बढेर ३.४ प्रतिशत पुग्ने अनुमान छ।
भूराजनीतिक तनाव र युद्धका कारण विश्व अर्थतन्त्रमा अवरोध उत्पन्न भए पनि प्रविधि क्षेत्रमा भइरहेको लगानी, आर्थिक धक्का सामना गर्न अपनाइएका उपाय र बदलिँदो परिस्थितिअनुसार अर्थतन्त्रले गरेको अनुकूलनले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्न सहयोग गरेको आईएमएफले जनाएको छ।
विशेषगरी कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा भइरहेको लगानीले विश्व आर्थिक वृद्धिलाई टेवा दिएको छ। एआईका लागि आवश्यक पूर्वाधार, उपकरण र प्रविधिमा भइरहेको खर्चले केही प्रमुख अर्थतन्त्रमा आर्थिक गतिविधि बढाएको छ। तर, यो लाभ सबै देशमा समान रूपमा नपुगेको आईएमएफको विश्लेषण छ।
विश्व आर्थिक वृद्धिको सम्भावना कायम रहे पनि आगामी दिनमा भूराजनीतिक द्वन्द्व, व्यापार तनाव, ऊर्जा मूल्य र वित्तीय जोखिमले वृद्धिमा थप दबाब पार्न सक्ने कोषले चेतावनी दिएको छ।


