


जेन जेडले माग्यो सबै आयुक्तहरुको राजीनामा




काठमाडौं । जेनजेड मुभमेन्ट एलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सबै आयुक्तको राजिनामा माग गरेको छ । जेनजेडले आज राजीनामा दिन आग्रह तथा दबाब पत्र दिएको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति गरेका राईको नियुक्ति प्रकृयामा समेत प्रश्न उठाउँदै राजीनामा मागेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीहरुको नियुक्ति गर्न आवश्यक रहेको र राई लगायत सम्पुर्ण आयुक्तको नियुक्ती संसदिय सुनुवाइ बिना नै पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारले अध्यादेश जारी गरी निरंकुश ढङ्गले गरेको दाबी गरिएको छ ।
‘वि.सं. २०८२ साल भाद्र २३ गतेबाट जने (जीद्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरु भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य हुन् भन्नेबारे यहाँलाइ अवगतै छ । यी मागहरु पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीहरुको नियुक्ति गर्न आवश्यक छ । तपाईंलगयत अरु सम्पुर्ण आयुक्तको नियुक्ती संसदिय सुनुवाइ बिना नै पूर्वप्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढङ्गले भएको छ । यसले तपाईंको निष्पक्षतामा ठुलो प्रश्न उठाउँछ ।
साथै, तपाईंका कार्यहरु राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको आफ्नै नाम वाईड बडी घोटालालगायत धेरै भ्रष्ट्राचारका मुद्दाहरुमा मुछिएको पनि छ । विशेष अदालतले समेत स्पष्ट रूपमा तपाईं र सिङ्गो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणाली माथि प्रश्न उठाएको छ । यसले भ्रष्ट्राचार अन्त्य र दोषीलाइ कारबाही लगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला । तपाईंको नेतृत्वमा यी कार्यहरु निष्पक्ष रुपले हुनसक्ला भन्नेमा कुनै विश्वसनिय आधार छैन ।
यस कारण, ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य गर्नका लागी दिएको शाहदतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईं लगायत सम्पुर्ण आयुक्तलाई तत्काल राजिनामा दिनका लागी आह्वानका साथै यस पत्र मार्फत दबाब दिन्छौं’ राजीनामा माग गरेको पत्रमा भनिएको छ ।