

एमालेको विज्ञप्ती : जेनजी आन्दोलनको घटना दुःखद्




काठमाडौँ । सोमबार एक विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेले राजधानी काठमाडौँलगायत देशभरि भएको ‘जेनजी’ पुस्ताको आन्दोलनको क्षति बारे आफूहरु दुखी रहेको सुनाएको छ ।
आज साँझ एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा हृदयविदारक र दुःखद् घटनाले मर्माहत बनाएको लेखिएको छ। सोही आन्दोलनमा काठमाडौँ र इटहरीमा गरी १९ जना युवाहरुले ज्यान गुमाएको अवस्थामा तीन सय बढी घाइते अवस्थामा छन् ।
यता, आज मुलुकमा जेनजी, नेपालको आयोजनाका नाममा भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि दजनौँ व्यक्तिको मृत्यु भएको छ । ठुलो मात्रामा सरकारी सम्पत्ति नष्ट भएको छ । यो एउटा हृदयविदारक र दुःखद् घटना होु, विज्ञप्तिमा उल्लेखित छ।
सोही विज्ञप्तीबाट एमालेले आन्दोलनकारी र सरकारलाई संयमता अपनाउँदै वार्ताको माध्यमबाट समस्या समाधान गर्नु पर्ने सुझाएको छ। उनीहरुले घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।
साथै, आन्दोलनमा ज्यान गुमाएका युवाहरुलाई लक्षित गर्दै एमालेले श्रद्धाञ्जलि तथा उनीहरुको परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।