

माओवादी र एकीकृत समाजवादी पार्टीद्धारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग




काठमाडौं । जेनजी आन्दोलनका क्रममा सरकारले नरसंहार गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी दलले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।
मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान अन्तर्गत गोरखामा उपलब्ध नेताहरूको बैठकले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् । जेएनजी पुस्ताले आह्वान गरेको सामाजिक सञ्जाल बन्दको बिरोध र भ्रष्टाचारविरुद्धको अभियानमा राज्यपक्षबाट भएको दमनप्रति माओवादीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शान्तिपूर्ण आन्दोलनमा संलग्न नागरिकमाथि भएको प्रहरी दमनप्रति हाम्रो पार्टी कडा भत्र्सना गरेको माओवादीले जनाएको छ । ‘जेएनजी पुस्ताले उठाएका सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धका आवाजहरू न्यायसंगत र जनपक्षीय छन् । अतः ती मागहरूलाई जिम्मेवारीपूर्वक सम्बोधन गर्न हाम्रो पार्टी सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ’ माओवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जेनजीको आन्दोलनका क्रममा अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ ।
यता नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पनि प्रधानमन्त्री केपी शर्माओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । आज आकस्मिक रुपमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
‘अहिले नै तत्कालै आन्दोलनकारीका माग सम्बोधन गर सरकार ! सामाजिक सन्जाल खुला गर’, ज्वालाले भनेका छन्– ‘यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन मिल्दैन । प्रधानमन्त्री र गृहमन्त्री तुरुन्त राजीनामा देउ !!’
आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जायज मागहरूको समर्थन गरेको पार्टीले सामाजिक सन्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार र कुशासनविरोधि आन्दोलनको रूपमा अघि बढेको कुरा जायज भएको जनाएको छ ।