

वीरगञ्जमा हैजा फैलिएपछि २ दिन विद्यालय बन्द गर्ने निर्णय




काठमाडौं । वीरगञ्जमा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि २ दिन सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय भएको छ।
वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले २ दिन विद्यालय बन्द गर्न आह्वान गरेपछि सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिने भएका हुन्।
वीरगञ्जका विभिन्न अस्पतालहरूमा उपचाररतमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ भने १२९ जना बिरामीहरू उपचाररत छन्। बीरामीहरूको संख्या बढ्दै गइरहेको छ।
मुख्यगरी वीरगञ्ज महानगरका ११, १२, १३ र १६ नम्बर वडामा हैजा संक्रमण फैलिएको बताइएको छ। पर्सामा पछिल्लो १० वर्षयता समुदायस्तरमै पहिलोपटक हैजाको प्रकोप देखिएको हो।
हैजा भिब्रियो कोलेरा नामक भाइरस दूषित खाना वा पानीमार्फत् शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्छ। हैजा लागेपछि झाडापखाला, बान्दा, पेट दुख्ने, आँखा गाडिने, डिहाइड्रेशन भई मांसपेशी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखा पर्छन्। हैजाको समयमै उपचार नभएमा अत्यन्त निजर्लीकरण भई प्राणघातक पनि हुन सक्छ।
हैजा तीव्र रूपमा फैलिने एक संक्रामक रोग हो। राज्यले हैजा नियन्त्रणका लागि प्रभावकारी नीति र योजना लागू गर्न नसक्दा पछिल्लो सयम पर्सामा यसको जोखिम बढ्दै गएको छ।