
सुरक्षा जोखिमका कारण धेरैजसो सरकारी वेबसाइट ४ दिनदेखि बन्द
काठमाडौं । वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ कोडिङ प्रणालीमा विश्वव्यापी रूपमा सुरक्षा जोखिम भेटिएपछि सम्भावित साइबर आक्रमणबाट बच्न गएको बिहीवार कात्तिक ५ गतेदेखि नेपालका हजारौँ सरकारी वेबसाइट बन्द गरिएका छन् ।
वेबसाइट बन्द हुँदा नयाँ लाइसेन्सको अनलाइन फाराम, मालपोतको भू–सेवा र राजस्व अनुसन्धानको भीसीटीएसजस्ता अत्यावश्यक सेवाहरू ठप्प भएका छन् । नेपाल राष्ट्र बैंकको वेबसाइटसमेत बन्द हुँदा दैनिक विदेशी मुद्राको विनिमय दर र ब्याजदरसम्बन्धी जानकारी लिन सामाजिक सञ्जालको सहारा लिनुपरेको छ ।
निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले ३–४ घण्टाभित्रै प्रणाली सुरक्षित बनाएर सेवा शुरू गरिसके पनि सरकारी निकाय भने ४ दिनदेखि अलमलमै देखिन्छन् । यसले सरकारको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । राहदानी विभाग, श्रम स्वीकृति र राष्ट्रिय परिचयपत्रजस्ता पीएचपी प्रयोग नभएका सेवा भने सञ्चालनमै छन् । राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सफ्टवेयर विकास केन्द्रका अनुसार अहिलेसम्म नेपालमा कुनै साइबर आक्रमण भने भएको छैन ।
प्रणालीलाई नयाँ र सुरक्षित संस्करणमा अद्यावधिक गरी प्राविधिक परीक्षण पछि भोलि वा पर्सिसम्ममा सबै वेबसाइट पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले जनाएको छ ।


