

विवेकशील साझा पार्टीको कार्यवाहक महासचिवमा समुन्द्र के.सी




काठमाडौं – विवेकशील साझा पार्टीले कार्यवाहक महासचिवमा समुन्द्र के.सीलाई तोकेको छ । पार्टीको महासचिव रन्जु दर्शनाले अमेरिकाको भ्रमणमा रहने भएकाले पार्टीका सचिव समुन्द्र के.सीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको हो । पार्टी विधान २०७९ को प्रावधानअनुसार दर्शना भदौ २ गतेदेखि असोज १५ गतेसम्म अनुपस्थित रहने हुँदा यो अवधिमा महासचिवको सम्पूर्ण जिम्मेवारी के.सीले निर्वाह गर्ने विवेकशील साझा पार्टीले जनाएको छ ।
दर्शनाले पार्टीको नाममा सोमबार जारी गरेको पत्रमा भनिएको छ, “म महासचिव रन्जु दर्शना २०८२ साल भदौ २ गतेदेखि असोज १५ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहने भएकाले सो अवधिसम्मका लागि कार्यवाहक महासचिवको जिम्मेवारी सचिव समुन्द्र के.सीलाई हस्तान्तरण गर्दछु।”
विवेकशील साझा पार्टी हाल नेपालको नयाँ पुस्तामुखी राजनीतिक दलका रूपमा चिनिन्छ । युवा नेतृत्वलाई प्राथमिकतामा राख्ने यस पार्टीले आन्तरिक रूपमा पनि नेतृत्व हस्तान्तरण र जिम्मेवारी बाँडफाँटलाई पारदर्शी बनाउन पहल गर्दै आएको छ । महासचिव दर्शना विगत लामो समय देखि पार्टीभित्र सक्रिय रहँदै आन्तरिक संगठन विस्तारदेखि नीति निर्माणसम्ममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् ।
यता, कार्यवाहक महासचिवमा तोकिएका समुन्द्र के.सी पार्टीभित्र सचिव पदमा रहेर सांगठनिक कार्यमा सक्रिय रहँदै आएका नेता हुन् । यसका साथै के.सी पार्टीको विदेश विभाग प्रमुखका रुपमा समेत जिम्मेवारी सम्हाल्दै आएका छन् । अब उनले करिब एक महिनासम्म महासचिवका सम्पूर्ण अधिकार र जिम्मेवारी सम्हाल्नेछन् । यस अघि पनि के.सीले कार्यवहाक महासचिवको रुपमा काम गरिसकेका छन् ।