

इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा ६ अर्ब ७५ करोड




काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विववरणअनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो ।
गत आर्थिक वर्षमा बैंकको खुद नाफा ६४.४३ प्रतिशत बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
उक्त बैंकको खुद ब्याज आम्दानी ६.५४ प्रतिशत घटेर १४ अर्ब १२ करोड ८१ लाख ६७ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्ष भने बैंकको उक्त आम्दानी १५ अर्ब ११ करोड ६९ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
साथै, कम्पनीको कुल सञ्चालन आम्दानी ०.७३ प्रतिशत घटेर १७ अर्ब ६४ करोड १९ लाख ३८ हजार रुपैयाँ र सञ्चालन नाफा ५८.६६ प्रतिशत बढेर १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।
अघिल्लो आर्थिक वर्ष ५ अर्ब ६९ करोड ३२ लाख ३२ हजार रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा समिक्षा अवधिमा ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.३३ प्रतिशत छ।
बैंकको चुक्तापूँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ र जगेडामा ३२ अर्ब ७४ करोड १२ लाख २४ हजार रुपैयाँ सञ्चिति रहेको छ । यता, बैंकको निक्षेप १७ प्रतिशत बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख ७२ हजार रुपैयाँ र कर्जा लगानी १८ प्रतिशत बढेर ३ खर्ब २६ अर्ब ९३ करोड २२ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ४.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ५.८५ प्रतिशत पुगेको छ ।
असार मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९.८० रुपैयाँ र प्रतिशेयर नेटवर्थ २३१.०२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.६७ गुणा छ ।