

बोनस दरलाई आधार बनाएर बीमा गर्नु ठिक कि बेठिक ? यस्तो छ वास्तविकता !




काठमाडौं । बीमा गर्दा अधिकांश अवस्थामा जीवन बीमा कम्पनीहरुले दिने अतिरिक्त प्रतिफल (बोनस दर) लाई नै हेर्ने गरिन्छ । नहेर्नु पनि कसरी ? बीमा कम्पनीहरुले नै हाम्रो कम्पनीमा बीमा गराउँनु भयो भने बोनस दर यतिसम्म पाउँनु हुन्छ भनेर प्रतिस्पर्धाको घम्साघम्सी नै चलाएका हुन्छन् । तर, हामीले बुझ्नै पर्ने वास्ताविक तथ्य भने केही फरक छ ।
यदी जो कोहीले जीवन बीमा कम्पनीको बोनस दरलाई नै आधार बनाएर बीमा गर्छ भने उसले गरेको निर्णय हमेसा सहि नै हुन्छ भन्ने छैन । यसको प्रमुख कारण भनेको आज तपाईलाई बीमा कम्पनीले दिन्छु भनेर बीमा गराएको बोनस दर कुनै (कन्स्टेन्ट) निश्चित फिगर होइन त्यो परिवर्तनशिल छ । यदी कसैले आज तपाईलाई यति धेरै रकम पाउँने आशा गर्नु भएको छ भने फलानो किसिमको बीमालेख तपाईलाई उपयुक्त हो भन्छन् भने तपाई अवश्य पनि झुक्किने सम्भावना धेरै छ । किनकी कुनै पनि बीमा कम्पनीहरुले प्रत्येक वर्ष आफ्नो हिसाब किताबको गणना र लेखापरिक्षण गराउँनु पर्छ । उनीहरुले त्यसरी बीमाका विज्ञ गणितिज्ञ जसलाई बीमांकी (एक्चुरी) भनिन्छ उनीहरुको हातबाट लेखाजाँच गर्नु पर्छ । त्यसरी अन्य पेशामा जस्तै बीमाका विज्ञ प्राविधिले आफ्नै कम्पनीको जोखिम मूल्यांकन गर्ने प्रकृयालाई (भ्यालुयसन) सम्पूर्ण जोखिमको आँकलन जोखिमांकन गराउँदा बीमा कम्पनीले आगामी वर्षमा दिने बोनस दरमा फेरबदरल आउँन सक्छ । त्यस्तो अवस्थामा तपाईहरुलाई दिने भनिएको बोनस दर समान रहनेदेखि त्यसमा घटी वा बढी दुवै हुने सम्भावना रहन्छ ।
अब जोखिमांकन गर्दा फरक पर्ने सक्ने बोनस दरलाई नै तपाईहरुले यसकै आधारमा बीमांक रकम या भनौ बीमा गरे बापत हात पर्ने अन्तिम रकम लिने निर्णय गर्नु भयो भने तपाईले बीमा गर्नुको अर्थ पूर्ण हुन्छ भन्ने छैन । बीमा कम्पनीहरुले बोनस दर निर्धारण गर्न पनि एक छुट्टै प्रकृया अपनाउँनु पर्छ । बोनस दर निर्धारण हुने चक्रको बारेमा पनि हामीले आगामी दिनमा जानकारी दिनेछौं । अहिले पनि जो कोहीले जीवन बीमा गर्दैछ भने बोनस दरलाई मात्रै आधार बनाएर बीमा गर्दा त्यसमा केही फेरबदल आउँन सक्छ भन्ने बारेमा हामीले चर्चा गरेका छौं ।
अब फेरी केही बीमितहरुले बीमा कम्पनीहरुको शेयरमा लगानी गर्दा उनीहरुको वित्तीय रिपोर्टको खोजी गरे जस्तै बीमा कम्पनीहरुले विगतमा दिएका बोनस दर त राम्रो रहेछ त्यसैले यसको बोनस दर घट्दैन भन्ने धारणा बनाउँनु भयो भने त्यसमा पनि तपाईहरु चुक्ने सम्भावना रहन्छ । सोही कारण जीवन बीमा गर्दा बीमा कम्पनीहरुले कति बोनस दिन्छन् भनेर मात्रै हेर्नु भन्दा पनि तपाईको जीवनमा रहेको जोखिम कस्तो किसिमको, तपाईको आर्थिक हैसियत कुन स्तरमा रहेको छ । तपाईले आज किनेको बीमाको बीमाशुल्क कति रहेको छ । तपाईले किस्ता बुझाउँदा समस्या आउँछ कि आउँदैनदेखि मुख्य कुरा कस्तो व्यक्तीले तपाईलाई बीमाको लागि सिफारीस गरेका छन् र त्यस्तो बीमाले तपाईको जीवनमा कतिको माने वा अर्थ राख्छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ ।
बीमाको अन्तर्राष्ट्रिय महत्व भएकाले बीमा गर्नु आर्थिक परिपक्वता र वित्तीय रुपमा साक्षर भएको लक्षण त पक्कै हो तर तपाईले बीमा किन गर्नु भएको हो र त्यसले तपाईको आवश्यकतामा कति साथ दिन्छ भन्ने कुरा बीमा गर्नु पर्ने व्यक्तीले खोज्न आवश्यक छ । यदी यसको महत्व तपाईले बुझ्नु भयो भने यो पक्का छ कि भोली तपाईले आफ्नो मातहतमारहेका अन्य साथीसँगीलाई पनि आफूले बुझेको बीमाको अपरिहार्यताको बारेमा बुझाउँनु हुन्छ र उनीहरुले पनि आफ्नो आर्थिक हैसित अनुसारको रकम बीमामा लगानी गरेर सुरक्षित बन्ने छन् ।
बीमा कम्पनीहरुमा बीमाशुल्क लगानी गरेर उनीहरुबाट बोनस किन्छु भनेर हामीले सोच्ने भन्दा पनि बरु आफ्नो सबैभन्दा ठूलो जोखिम पत्ता लगाएर त्यसबाट सुरक्षण पाउँनुको लागि बीमा कम्पनीलाई त्यस्तो जोखिम जिम्मा लगायौं भने सकभर पछुताउँनु पर्दैन ।