

जीवन बीमा के हो र किन गर्ने ? दाबी–भुक्तानी नपाए के गर्ने ?




काठमाडौं । जीवन बीमा भन्नाले (व्यक्ती विशेष) मानव शरिरको बीमासँग सम्बन्धित छ । जसरी विज्ञानमा (लिभिङ्ग थिङ) भनेर सजीव तथा (नन–लिभिङ्ग थिङ) भनेर निर्जीव वस्तुहरु बुझिए जस्तो जीवन बीमा होइन । जीवन बीमा कुनै पनि जीवको वा सास भएका प्राणीहरुको बीमा नभई मात्र हामी मनुष्यको बीमासँग सम्बन्धित छ । अन्य मानिस बाहेक पशुपक्षिहरुको बीमा भने बालि तथा पशुपंक्षी बीमामा गणना हुन्छ ।
अब मुख्य कुरा भनेको कुनै पनि मानिसले जीवन बीमा किन गर्ने भन्ने कुरा नै निकै महत्वपूर्ण हुने गर्छ । जीवन बीमा हरेक व्यक्तीलाई आवश्यक छ । जुनसुकै ठाउँ, भूगोलमा बसोबास गरेको भए पनि, जो जस्तो वर्गमा रहे पनि हामी सबै मानव हौ र मानव जीवन नासवान छ । सोही नासवान शरिरले कुन दिन साथ दिन छोड्छ त्यसको कुनै निश्चितता छैन । अब त्यस्तो पीडादायक जोखिमको बेलामा आफ्ना परिवारहरुलाई थप आर्थिक कष्ट नपरोस् भनेर जीवन बीमा गर्ने गरिन्छ । हुन त मानिको जीवन अमूल्य छ । मानव जीवनको चोलालाई तुलना गरेर करोडौं त के अर्बौ रुपैयाँ छुट्यायौं भने त्यसले मानिसको जीवनको परिपूर्ति गर्न सक्दैन । मृतकको जीवन (रिप्लेस) पुन स्थापित हुँदैन । तर,यसमा एउटा तथ्य के लुकेको छ भने हाम्रो घर परिवारमा कोही बित्दा हामीलेसँगसँगै वा भनौ एकै पटक संसार छाड्दैनौ । आफ्ना अग्रजहरुले, घरमा कमाउँने मुख्य घरमुलीको निधन हुँदा त्यहाँ आश्रित भएर रहेका परिवारका अन्य सदस्यहरुका लागि जीवनले ठूलो राहातको काम गर्छ । पछिल्लो समय आफ्नो मृत्युपछि आफ्ना परिवारका बिचल्ली नहोस् भन्नका लागि एक मात्र पक्का साथी जीवन बीमा बन्दै आएको छ ।
प्रकृयागत त्रुटी सच्याउँन आवश्यक
अहिले पनि अधिकांशलाई बीमा भनेको बचत हो भन्ने लाग्ने गर्छ । तर, बीमा भनेको बचत मात्र होइन बीमाको उदेश्य रक्षावरण नै हो । बीमा गरेर व्याज खान भन्दा पनि आफ्नो जोखिम कुन प्रकारको छ सोही अनुसारको बीमाशुल्क बीमितले जीवन बीमा कम्पनीलाई बुझाउँने हो । र, यसमा बीमाको उदेश्य नागरिकको दुखमा साथ दिने नै हो । सोही कारण कोही बीमा गरेर श्रीमान् गुमाएर विधवा हुन पर्दा होस् वा कसैलाई ठूला दीर्घरोग लाग्दा होस् बीमाले बीमांक रकम दिन्छ । विगतमा हामीले पनि आफ्ना बाबु बाजेले घरमा भिन्दो हुँदा घर, खेत रोज्ने अधिकार कान्छो छोरालाई दिनेदेखी आफ्नो जिउनी जग्गा आफ्ना सन्तानका लागि छुट्याउने गरेको पाउँछौं । यो भनाईमा निकै सार्थकता लुकेको छ । एक त पुराना अभिभावकहरुको दूरदर्शीता यसमा झल्किन्छ भने अर्को भनेको उनीहरुले भविष्यमा आफ्नो शेषपछि पनि सन्ताको भविष्यको चिन्ता गर्दैै आफ्नो नाममा भएको जग्गा आफूलाई पालन, पोषण गर्ने सन्तालाई छुट्याउँने गर्थे । त्यो पनि आफू जिउँदै हुँदा घोषणा गरेर । अब अहिले हामी शहर बजारमा हौं कि विदेशमा, ग्रामिण तहमा हाम्रो बसोवास होस् कि सामुदायिक वन छेउमा, सबैको पक्का अभिभावक र साथी जीवन बीमा बन्न सक्छ ।
बीमा भनेको नेपाली बीमा कम्पनीले चलाएको चलन मात्र नभई यो विश्वका ठूला र शिक्षित राष्ट्रहरुले अपनाएको एक वैज्ञानिक विधि पनि हो । अब नेपालमा तपाईले बीमा गरेर आफ्नो भुक्तानी पाउँन भए भने एउटा कम्पनीलाई मात्र दोष दिएर थाप्लोमा हात राखेर बस्नु पर्दैन । तपाईले सबैभन्दा पहिला आफ्नो सम्झौता पत्र पढ्नु होस् । के जीवन बीमा गर्दा तपाईले जुन करार वा शर्त तोकेर बीमा गर्नु भएको थियो अहिले तपाईको स्थिती वा वास्तविकतामा पनि त्यही घट्ना घटेको छ त ? या भनौ बीमा गर्दा तपाईको हातमा थम्याइएको (बीमा पोलिसी) बीमालेखका शर्त अनुसारकै प्रकृयामा अघि बढ्दा तपाईले दाबी–भुक्तानी पाउनु भएन त ?
यदी त्यसरी दाबी-भुक्तानी पाउँनु भएको छैन भने तपाईले बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणमा आफ्नो असन्तुष्टि सहितको उजूरी राख्न पाउँनु हुनेछ । बीमा प्राधिकरण आफैमा अर्धन्यायिक निकाय भएकाले बीमा प्राधिकरणले पनि तपाईहरुको समस्या सुन्नु पर्ने हुन्छ । बीमा प्राधिकरण सरकारी संस्था हो । तपाईले कुनै पनि सरकारी वा निजी बीमा कम्पनीमा बीमा गराएको भए पनि तपाईले सिधै सरकारी संस्थाको साथ लिन सक्नु हुन्छ । यदी त्यस्तो अवस्थामा पनि तपाईहरुलाई चित्त बुझ्ेन भने सिधैं अदालतको ढोका ढक्ढक्याउने मौका पनि पाउँनु हुनेछ ।
तर, जीवन बीमामा जम्मा दुई वटा समस्या देखिने गरेका छन् । एक त बीमा गराएपछि नागरिकहरुले कहाँ गएर उजूरी गर्ने वा आफ्नो पक्षामा फैसला होला त ? भन्ने ठूलो डरमा बस्दै आएको पाइन्छ । अर्को भनेको बीमित नागरिकले आफूले बीमा गरेको शर्तमा स्पष्ट नभई बीमाले पैसा नदिएको हो कि ? भन्ने भ्रममा परेको पाइन्छ । अब यो दुबै भ्रमबाट बाहिर निस्कनु जरुरी छ । किनभने कसैले खाडीमा रगत, पसिना नभनी कठिन श्रम गरेर पठाएकोदेखि आफ्नो गाँस काटेर बीमा गर्ने परिवारहरुको पनि कमी छैन । तर, अब जीवन बीमामा कुनै कम्पनीमा दाबी भुक्तानी लिन ढिलाई भएको विषयलाई लिएर बीमाको सिद्धान्त नै गलत रहेछ भनेर बसेर हुँदैन । तपाईले किन पैसा नपाएको हो त्यो खोजी गर्नु होस् त्यो पनि आजै, अहिल्यै । यही तपाईले जुन शर्तमा बीमा गरेको हो त्यही अनुसार घटना भएको छैन भने त्यस्तो बेलामा नेपालमा मात्र होइन कहि पनि बीमाले पैसा दिँदैन । फेरी करार वा बीमाको शर्त अनुसार घटना भएको छ भने तपाई जसरी पनि तोकिएको बीमांक रकम पाउँनु हुनेछ या भनौ लिएरै छाड्नु होस् । बीमालाई परम् विश्वासको सिद्धान्त पनि भनिन्छ । बीमा कम्पनीहरुले पैसा नदिई कतै जाने सम्भावना हुँदैन, किनभने उनीहरु पनि हाम्रा यही देशका साना, ठूला सबै कानुनले बाँधिएका छन् । अर्को कुरा भनेको बीमा कम्पनीहरुको व्यवसाय नै बीमा गराउँने भएकाले उनीहरुले एक सिजनको लागि मात्र काम गर्दैनन्, नागरिकहरुको २० वर्षको दायित्व बोक्छन् ।
शर्त बुझेर मात्रै बीमा गरौ सबैभन्दा पहिला बीमा बुझौं
बीमा गर्नु भन्दा पहिला जो कोहीले आफूलाई कस्तो बीमा आवश्यक छ त्यसको पहिचान गर्न जरुरी छ । कुनै बीमा सस्ता छन् भने कुनै निकै महङ्गा पनि छन् । आफ्नो आर्थिक हैसियत र आफ्नो जोखिमको स्थिती हेरेर बीमा गर्नु पर्ने यसका विज्ञहरुले सुझाउँदै आएका छन् । सोही कारण जीवन बीमा सबैलाई आवश्यक हुने भएकाले कस्ले कति रकमको बीमा गर्ने पहिचान गर्न आवश्यह हुन्छ ।
बचत र जोखिमको रक्षावरण दुवै हुने
बीमा गर्दा बीमा गर्ने व्यक्तीको जोखिमको रक्षावरण हुन्छ । यसको मतलब कथमकदाचित ज्यान तलमाथि पर्दा उसले आफ्नो जोखिमको सुरक्षण गरेको हुन्छ । तर, आफ्नो बीमा अवधिभर आफू रहेमा आफूले गरेको लगानीको फल आफै खान पाइन्छ । बीमाले दिने रिर्टनमा पछिल्लो समय आकर्षक बोनसहरु पनि जोडिएका छन् । आजकाल बैंकले बीमाको सुरुवात गरेको देखिन्छ । त्यस्तो बीमा यही बीमा कम्पनीहरुसँग टाईअप गरेर यही प्रोडक्ट उनीहरुले सापटी लगेर बेचेका हुन् । क्षती हुँदा यही बीमा कम्पनी र पूनर्बीमा कम्पनीले नै पैसा दिन्छन् । भनाईको मतलब बरु बैंकले बीमा बेचेको देखिन्छ तर बीमाले बैंकको जस्तो बचतको मात्रै काम गर्ने होइन । तपाईहरुले आज एक किस्ता बुझाएर चार करोड रुपैयाँ बराबरको जीवन बीमा गर्नु भएको छ र मानौ बीमाशुल्क बुझाएपछि तपाको जीवन नै तलमाथि भयो भने जीवन बीमा कम्पनीले खुरुक्क चार करोड रुपैयाँसम्म दिन्छन् ।
उनीहरुले पनि तपाईबाट लिएको जोखिमको तपाईले बीमा गरे जस्तै विदेशी पूनर्बीमा कम्पनीलाई आफ्नो जोखिम बेचेका हुन्छन् । या भनौ बीमा भनेको विश्वव्यापी एउटा यस्तो चेन हो तपाईले राख्नु भएको पैसा यहाँको बीमा कम्पनीको माध्यमबाट विश्वका अर्को कम्पनीमा त्यहाँबाट अर्को कम्पनीमा पनि पुगेको हुन्छ । भनाईको मतलब अब यहाँ केही क्षति पर्दा कुनै पनि कम्पनीले एक्लैले सबै पैसा तिर्नु पर्ने नभई उसले विदेशी पुनर्बीमा कम्पनीलाई तपाईले पठाएको डकुमेन्ट पठाएर बीमांक ल्याउँने गर्छ । अब यसबाट के बुझ्न सकिन्छ भने बीमा गरेपछि बीमा कम्पनीले त्यस्तो पैसा कहाँबाट देला त ? कम्पनी नै टाँट पल्टेला कि वा कतै भाग्ने त होइन भन्ने त्यस्ता सम्भावना निकै कम हुन्छ ।
सोही कारण जीवन बीमाको बारेमा हामीले बुझ्न र बीमा गर्न अपारिहार्य छ । बीमा गर्यो भने त आर्थिक लाभ मिल्यो, मिल्यो तर बीमाको बारेमा सुन्यो मात्रै भने पनि शैक्षिक लाभ मिल्ने यसका जानकारहरु बताउँछन् ।