

विद्युत समस्या समाधानको प्रयासका लागि प्राधिकरणका कार्यकारी निर्देशक शाक्य मधेस प्रदेशमा




काठमाडौं । चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानको प्रयासका लागि आफैं चितवन पुग्नु भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य त्यसपछि मधेस प्रदेश पुगेका छन् ।
पछिल्लो समय चितवन मात्रै होइन मधेस प्रदेशका धेरै भू–भागमा पानी नपर्दा बिजुलीको माग बढेको छ । जसका कारण कतिपय ठाउँमा प्राधिकरणको प्रणालीले माग धान्न नसक्ने अवस्थासमेत छ ।
यही कुरालाई मध्यनजर गर्दै कार्यकारी निर्देशक शाक्य प्राविधिक टोलीसहित मधेस प्रदेश पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि मात्रै मधेस प्रदेशको निरीक्षण भ्रमण गरी खानेपानी र सिँचाइको संकट झेलिरहेको मधेसमा तत्काल ५ सय डिप बोरिङ जडान गर्ने बताएका थिए ।
डिप बोरिङ जडानका क्रममा विद्युत आपूर्तिमा के–कस्तो प्राविधिक समस्याहरु देखिन सक्छ भन्नेलगायतका विषयमा पनि अनुगमन गर्ने र बुझ्नका लागि शाक्यसहितको टोली मधेस प्रदेश पुगेको हो । प्राधिकरणले पनि लामो खडेरीका कारण सुक्खा संकटकाल घोषणा भएको मधेस प्रदेशमा विद्युत प्रसारण तथा वितरणको अवस्था बुझ्न कार्यकारी निर्देशक शाक्य सहितको टोली मधेस प्रदेश पुगेको जानकारी दिएको छ ।
मधेस प्रदेश पुगेका कार्यकारी निर्देशक शाक्यले मधेस प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग छलफल अन्तरक्रिया गरी सुक्खा खडेरी परी देखिएको संकटमा आम सर्वसधारणलाई राहत हुने गरी सिँचाइ विद्युतीकरणमा के कसरी कार्य गर्न सकिन्छ भनी सुझाव लिएका छन् ।