

दाङका किसान कागती बिक्री नहुँदा समस्यामा




दाङ । यहाँका किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारी बताए । उनले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आएका छन् ।
भारतीय कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ । उनले भने, ‘स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन ।’ पछिल्लो समय एक क्विन्टल कागती बारीमै कुहिएर खेर गएको उनको भनाइ छ । उमेरले २५ वर्ष पुगेका किसान अधिकारीको बारीमा १५० कागतीका बोट छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा बिक्रीमा समस्या भनेर राखेपछि काठमाडौंबाट माग आएकाले चार सय ९७ केजी उधारोमा पठाएको उनको भनाइ छ । ८० रुपैयाँका दरले पठाएको उनले बताए ।
आफ्नै गाउँठाउँमा व्यावसायिक रूपमा कागतीखेती गर्दै आएका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘स्वदेशमै केही गरौं भन्ने भावनासहित यो व्यवसायमा लागेको छु, बजार खोज्दै भौतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।’
उनले एक बिघा जग्गामा व्यावसायिक रूपमा कागतीको खेती गर्दै आएको छ । किसान अधिकारीले यसबाट वार्षिक रूपमा दुई लाख ५० हजार रुपैयाँ बढी आम्दानी गर्दै आएका छन् । उनले कागतीसँगै आँप, लिच्ची, अमलालगायतको पनि खेती गर्दै आएका छन् ।
सुरुमा उनका तीन दाजुभाइ मिलेर कागतीखेती गरेका थिए । दाजु विक्रम अधिकारी भने हाल वैदेशिक रोजगारमा छन् भने भाइ जीवनले उनलाई सहयोग गर्दै आएको छ । यसका कारण व्यावसायिक रूपमा कागतीखेतीलाई निरन्तरता दिन केही सहज भएको उनको भनाइ छ ।