

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको प्यानल विजयी




काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी भएका छन् ।
शनिबार सम्पन्न संघको निर्वाचनमा कुँवरले सन्जीव ढकाल गोर्खाली र भैरव ढकाललाई भारी मतान्तरले पराजित गरेका छन् ।
उनले नर्दन टेरोटेरीबाट सन्जीव गोर्खाली ढकाल (२१२६) र पर्थ (पश्चिम अस्ट्रेलिया) (३७२७) बाट भैरव ढकाललाई हराएका हुन् । १६ हजार १ सय २१ मतदाता रहेको अस्ट्रेलियाबाट कुँवरले १३७०१ खसेको मतबाट ६८३९ मत पाए ।
झन्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर यसअघि संघको महासचिव रहेका थिए । प्यानल सहित चुनावी मैदानमा होमिएका कुँवरले संस्थालाई लगानीमैत्री, पारदर्शी र सहभागीमुखी बनाउने आफ्नो लक्ष्य रहेको बताए । यो जीत समग्र संघका सदस्यहरूको जीत रहेको भन्दै आफूले यो विश्वासलाई सधैं न्याय दिलाउने उद्घोष गरे ।
यससँगै कुँवरले अष्ट्रेलियास्थित संघीय तथा राज्य सरकारहरूबाट अनुदान भित्र्याउने र २ मिलियन डलरको स्रोत सुनिश्चित गर्ने महत्वाकांक्षी योजना अगाडि बढाउने छन् । यसअघि कुँवर एनआरएनए अस्ट्रेलियाको राज्य संयोजक (२०१७–२०१९), आईसीसी सदस्य (२०१९–२०२१), र ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१–२०२३) को जिम्मेवारीमा बसिसकेका छन् ।
कुँवरले यसअघि नेपाल महोत्सव, खेलकुद कार्यक्रमहरू जस्ता सफल आयोजनाहरूलाई नमूना कार्यक्रमको रूपमा विस्तार गर्ने योजना पनि अगाडि सारेका छन् । एनआरएनए अष्ट्रेलिया अन्तर्गत निर्माण हुने नेपाली बहुसांस्कृतिक केन्द्रलाई दातृ निकायहरूसँग साझेदारीमार्फत सम्पन्न गरिने उनको योजना छ ।
निर्वाचनबाट उपाध्यक्षमा (एनआरएन अस्ट्रेलियाका अहिलेका प्रवक्तासमेत रहेका बबिन मिश्र विजयी भएका छन् । उनले ७२६१ मत पाउँदा अर्का उम्मेदवार रमेश पौडेलले ४६१९ मत पाए । यस्तै महासचिवमा क्यानबेराबाट चुणमणि सापकोटा निर्वाचित भए । उनले ७०३० मत पाउँदा अर्का उम्मेदवार सिड्नीका भरतमणि देवकोटाले ३२५३ र वर्तमान कोषाध्यक्ष अर्जुन गौतमले १८१४ मत पाए ।
कोषाध्यक्ष पदमा निजन चौलागाई निर्वाचित भए । उनले ७०८७ मत पाउँदा लुना शिवाकोटीले ४७५६ मत पाए। यस्तै सचिव पदमा कल्याण खड्काले ७१८० मतसहित विजयी भए।