
धुमधामका साथ लक्ष्मीपुजा मनाउँने तयारी हुँदै:लक्ष्मीको आगमन हुने धार्मिक विश्वास



काठमाडौं । आज लक्ष्मीपुजा । धनकी देवी लक्ष्मीले यही अवसरमा हाम्रो घर, आँगनमा प्रवेश गर्ने तथा सुख, शान्ती, ऐश्वर्य लिएर आउँने विश्वास गरिन्छ । आम जनमानसदेखि ठूला कर्पोरेट हाउसहरुले लक्ष्मीले बास गर्ने भन्दै वर्षौनी विधिवत रुपमा पूजा आरधना गर्दै आएका छन् ।
जसरी स्वस्थानीको समयमा सरसफलाईलाई ध्यान दिनु भनिएको छ त्यसरी नै हामीले जति धेरै सरसफलाई गर्यो त्यति नै लक्ष्मीदेवी खुशी हुने मानिन्छ । कतिपयले आफूसँग भएका पैसाहरु सबैलाई एकै पटक पूजा गर्नुपर्छ भन्ने धार्मिक मान्यता रहदै आएको छ भने कहिकतै बिजोड नम्बरको रकमलाई पूजा गर्नु शुभ मानिने चलन छ ।
नेपालका कतिपय बैंक वित्तीय क्षेत्रहरुले आफ्नो कार्यालयको नाम लक्ष्मीकै नाम जोडेर राखेको पनि देख्न सकिन्छ । लक्ष्मीको नाम उच्चारण गर्दा मात्रै पनि लक्ष्मीलाई स्वागत गरेको र मन्त्र उच्चारण गरे जस्तै फल पाइने धर्मशास्त्रले बताउँने गरेको छ । हाल महालक्ष्मी, लक्ष्मी, देविका नाममा थुप्रै कर्पोरेट हाउसहरु नामाकरण भएको पाइन्छ ।
आजै तिहारको तेस्रो दिन यमपञ्चकमा कुकुर तिहार पनि एकै दिन पर्न गएको छ । नेपाली पात्रो अनुसार कतिपय अवस्थामा चाडपर्वका विशेष दिनहरु एक आपसमा गाभिने गरेको पाइन्छ ।
ग्रामिण तहमा कमेरोमाटो र रातोमाटो प्रयोग गरेर घरलाई रंगरोगन गर्ने गरेको भेटिन्छ भने शहरी भेगमा पनि आकर्षक रंडदेखि झिलिमिली बत्तीहरु जडान गर्ने गरिन्छ । गाउँ होस वा शहर, तिहार भित्रिएको संकेत हामीले पाएकै छौं । सबैतिर एउटै उदेश्य छ आफ्नो घर, आँगन सफा होस्, लक्ष्मीमाताले बास गरुन् ।
लक्ष्मी, धन, दौलत प्राप्त गर्ने पनि व्यक्तीका विभिन्न तौर, तरिका छन् । कतिपयलाई धनको प्रवाह छ भने कतिपयलाई त्यही धनले तान्ने व्याजको पर्वाह छ । कतिपयलाई थोरै रकमले पनि ठूलो गर्जो टार्नु पर्ने बाध्यता छ भने कतिपयलाई करौंडौ ऋणको भारी छँदैछ । तर, सबैले मर्का लक्ष्मीमाताले नै बुझ्छिन् र सफा मनले एकिकृत भएर पूजापाठ गर्दा सकारात्मक बाटाहरु खुल्छन्, भाग्योदयसम्म हुन्छ भन्ने विश्वास पनि व्याप्त देखिन्छ ।
सरसफाई गरेर एक किसिमको अनुशासासनमा रहेर दत्तचित्त भएर काम गर्दा सफलता मिल्ने कुरा धार्मिक आस्थासँग मात्र नभई निकैहदसम्म विज्ञानसम्मत पनि देखिन्छ ।
चाडपर्वको अवसरमा विभिन्न अप्रत्यासित घट्ना घट्नेदेखि आगलागीसम्मका घट्नाहरु धेरै हुने गरेको विगतका वर्षहरुका घटनाक्रमले देखाउँछ । सोही कारण सरकारले समेत आफ्नो सावधानीलाई ख्याल गर्दै चाडपर्वमा रमाउँन सल्लाह दिने गरेको छ ।
रंगिन पर्व तिहारले तपाईहरुको जीवनमा पनि कहिकतै फिक्का महशुस भएको ठाउँ छन् भने त्यहाँ रंग भरोस् । लक्ष्मीमाताकोबास होस् । धनधान्यकीदेखि लक्ष्मीले यही जीवनमा चाहेका कुराहरु पूरा गरुन् । यस शुभ घडीमा नोभल्टी न्यूज मिडीया प्रा.ली.को तर्फबाट सबै शुभ चिन्तक, सकारात्मक सोचका धनी, विज्ञापनदाता तथा पाठक वर्गहरुमा हार्दिक शुभकामना ।




