

काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात




भद्रपुर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा २२ अर्ब १६ करोड ११ लाख ७२ हजार रुपैयाँ बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ ।
कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । गत आवमा सबैभन्दा धेरै चिया नौ अर्ब ५५ करोड ८५ लाख रुपैयाँ, अलैंची छ अर्ब ५९ करोड २० लाख रुपैयाँ, प्लाइ तथा भेनियर तीन अर्ब ८५ करोड ७१ लाख रुपैयाँ, अम्लिसो एक अर्ब नौ करोड रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ ।
साथै अदुवा २७ करोड २६ लाख रुपैयाँ, बन्दा आठ करोड ६० लाख रुपैयाँ, जडीबुटी नौ करोड १३ लाख रुपैयाँ, मसुरो दाल नौ करोड सात लाख रुपैयाँ बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट तीन अर्ब ४६ करोड एक लाख ६६ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएको छ ।
आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १७ करोड ७० लाख ७२ हजार रुपैयाँ, चामल नौ करोड २७ लाख रुपैयाँ, ताजा तरकारी ३८ करोड ३२ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ ।
यसैगरी ताजा फलफूल ३८ करोड ११ लाख रुपैयाँ, लसुन ६४ करोड १५ लाख रुपैयाँ, आलु ७३ करोड ८६ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।