

आर्थिक वर्ष २०८१/८२ मा मेची भन्सारले संकलन गर्यो १५ अर्ब ९३ करोड राजस्व




झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।
यसअघि आव २०८०/८१ मा १४ अर्ब २३ करोड ५२ लाख ६० हजार रुपैयाँ र आव २०७९/८० मा १४ अर्ब चार करोड पाँच लाख ९२ हजार रुपैयाँ राजस्व असुली भएको भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए।
आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा कार्यालयले एक अर्ब ६९ करोड ५९ लाख छ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले आव २०८१/८२ मा १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो । भन्सारका सूचना अधिकारी हुमागाईँले लक्ष्यको तुलनामा ९१ दशमलव ८६ प्रतिशत प्रगति भएको बताए।
नेपालको पूर्वी प्रवेशद्वार मानिएको काँकडभिट्टामा रहेको यो भन्सार हुँदै पेट्रोलियम पदार्थ, तरकारी, यातायातका साधन र तिनका पार्टपुर्जा, खनिज उत्पादन, प्लास्टिकका कच्चा पदार्थ, कफी, दलहन, फलफूल, इलेक्ट्रिक मेसिनरी उपकरण, फलाम तथा फलामका सामग्रीलगायत वस्तु आयात हुने गरेको छ ।
त्यसैगरी, यस नाकाबाट निर्यात हुने प्रमुख वस्तुहरूमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्लिसो, भेनियर पाता, मोलासिस, सिमेन्ट क्लिङ्कर, अदुवालगायत छन् ।