
सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । मिति २०८३ साल असोज २२ गते विहीबारका दिन, एलिस रिसेप्सन गैरीधारा, काठमाडौँमा सम्पन्न भएको साधारण सभाले कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
जसमा यस डेभलपमेन्ट बैंकको हाल कायम जारी तथा चुक्ता पूँजी रु.३,७३,४०,६८,५०५.५३ (तीन अर्ब त्रीहत्तर करोड चालीस लाख अठ्सठ्ठी हजार पाँच सय पाँच रुपैयाँ त्रीपन्न पैसा) को ६.५२६३ प्रतिशत अर्थात रु.२४,३६,९७,१०२.४७ (चौबीस करोड छत्तीस लाख सन्तानब्बे हजार एक सय दुई रूपैयाँ सतचालीस पैसा) बराबरको नगद लाभांश (कर सहित) र हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत अर्थात रु. १४,९३,६२,७४०.२२ (चौध करोड त्रीयानब्बे लाख बैसठ्ठी हजार सात सय चालीस रुपैयाँ बाइस पैसा) बराबरको बोनस शेयर रहेको छ । यो प्रस्ताव पारित भए सँगै अब यस सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,८८,३४,३१,२४५.७५ (तीन अर्ब अठासी करोड चौंतीस लाख एकतीस हजार दुई सय पैतालीस रुपैयाँ पचहत्तर पैसा) पुग्ने भएको छ ।
साधारण सभाले आगामी ४ वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति समेत निर्विरोध चयन गरेको छ । जसमा संस्थापक शेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्याम कुमार शर्मा तथा सर्वसाधारण शेयरधनीका तर्फबाट विष्णु प्रसाद ढकाल, कृष्ण प्रसाद रेग्मी र भावना अग्रवाल रहेको जनाइएको छ । यसैबीच, आजै बसेको नव निर्वाचित सञ्चालक समिति सदस्यहरूको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । साधारण सभाले आ.व.०८२÷८३ को वित्तीय विवरण सहित लेखा परीक्षक नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरिएको छ ।


