

एशियन ब्याट्रीजले आइपीओ निष्कासन गर्ने




काठमाडौं । नेपालको ऊर्जा तथा औद्योगिक आत्मनिर्भरता प्रवर्द्धन गर्ने लक्ष्यसहित अघि बढेको एशियन ब्याट्रीज लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासनको तयारी थालेको छ । कम्पनीले उक्त उद्देश्यसहित धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापनका लागि हिमालयन क्यापिटल लिमिटेडलाई प्रबन्धक नियुक्त गरेको छ ।
२०७८ असार ३१ गते काठमाडौंमा आयोजित सम्झौता समारोहमा एशियन ब्याट्रीज लिमिटेडका अध्यक्ष सुरेश लोहनी र हिमालयन क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कम्पनीको हालको जारी पूँजी ६५ करोड रुपैयाँ रहेको छ । सोको २० प्रतिशत अर्थात १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो । कम्पनीका अनुसार आईपीओमार्फत जुटाइने पूँजीले एशियन ब्याट्रीलाई नेपालकै भरपर्दो ऊर्जा समाधान प्रदायक कम्पनीको यात्रामा थप सशक्त बनाउनेछ ।
सन् २०१३ देखि औपचारिक उत्पादन सुरु गरेको एशियन ब्याट्रीज लिमिटेडको उत्पादन केन्द्र मोरङ जिल्लाको बुढीगंगा गाउँपालिकामा रहेको छ भने केन्द्रीय सम्पर्क कार्यालय ललितपुरको सानेपामा अवस्थित छ । कम्पनीले सवारी साधन, इलेक्ट्रिक रिक्सा, मोटरसाइकल तथा सोलार प्रणालीमा प्रयोग हुने उच्च गुणस्तरका लिड–एसिड ब्याट्री उत्पादन गर्दै आएको छ ।