

स्वास्थ्य बीमालाई थप सहज बनाउने निर्णय




काठमाडौं । सरकारले स्वास्थ्य बीमालाई थप सजिलो बनाउने निर्णय गरेको छ । देशभरी सञ्चालनमा रहेका प्रथम सेवा बिन्दु केन्द्रहरु तोकिएका सबै सरकारी अस्पतालमा बीमितहरुले उपचार सेवा पाउने गरी स्वास्थ्य बीमा बोर्डले निर्णय गरेको हो । उक्त नयाँ व्यवस्था आगामी आर्थिक वर्षको साउनदेखि लागु हुने भएको छ ।
आम बीमितहरुबाट आएका गुनासोहरुलाई मध्य नजर गर्दै स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ तथा नियमावली, २०७५ मा भएको व्यवस्था संशोधन गरी नयाँ व्यवस्था लागु गरेको छ । विगतमा बीमितहरुले तोकिएको एक मात्र प्रथम सेवा बिन्दुबाट सेवा लिनुपर्ने बाध्यकारी अवस्था थियो । सोही प्रावधानलाई स्वास्थ्य बीमा बोर्डले नियमावली संशोधन गरेर देशभरीका अनुमति प्राप्त प्रथम सेवा बिन्दुबाट सेवा लिन सकिने व्यवस्था कायम गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले आगामी आर्थिक वर्षको साउन १ गतेदेखि परिमार्जित व्यवस्था लागु हुने भएको छ । बीमितले बीमा गर्दाको समयमा नै छनौट गर्नुपर्ने प्रथम सेवा विन्दुबाट मात्र सेवा लिनुपर्ने व्यवस्थाले बीमितलाई नेपाल भित्र कुनै पनि स्थानमा रहदा–बस्दा प्रथम सेवा बिन्दुमा पुगी सेवा लिुपर्ने प्रावधानबाट सेवा प्राप्त गर्न समस्या भएकाले सहज र सरल रुपमा बीमा सुविधा बीमितलाई पुर्याउनको लागि अनुमति प्राप्त देशभरीका प्रथम स्वास्थ्य सेवा बिन्दुको रुपमा काम गरीरहेका सरकारी अस्पतालबाट बीमा सेवा उपलब्ध गराइने भएको छ ।
स्वास्थ्य बीमा गरेका बीमितहरुले देशका जुनसुकै सहर तथा जिल्लामा बसोबास गरेपनि आफुलाई पायक पर्ने तथा नजिक रहेका सरकारी अस्पतालबाट स्वास्थ्य बीमा सेवा लिन सक्ने भएका छन् । बोर्डको यस निर्णयले बीमितहरुले स्वास्थ्य बीमा सेवा लिन थप सहज हुने विश्वास व्यक्त गरेका छन् ।
बीमितहरुले स्वास्थ्य बीमामा सोचे भन्दा पनि बढी समस्या भोग्दै आएका थिए । देशभरी प्रथम स्वास्थ्य बिन्दुको रुपमा रहेका सरकारी अस्पतालहरुले पनि बीमितहरुलाई विभिन्न बाहानामा समस्या दिदै आएका थिए । बोर्डको यस निर्णयले आउँदा दिनमा स्वास्थ्य बीमा सेवा केही सहज र व्यवस्थित हुने कैलालीका बीमित रामेश्वर यादवले बताए ।
स्वास्थ्य बीमा बोर्डको उक्त निर्णयले सेवा लिन निकै राहत मिल्ने बीमितहरुले धारणा व्यक्त गरेका छन् । सरकार र स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा स्वास्थ्य बीमा रहदै आएको छ । आम सर्वसाधारणहरुलाई सुलभ र सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उचित माध्यम भनेकै स्वास्थ्य बीमा रहेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि स्वास्थ्य बीमालाई निकै महत्वपूर्ण रुपमा लिएको छ । सरकारले बोर्डको बीमा दावी बक्यौता पनि सक्दो चाँडो भुक्तानी गर्ने विश्वास दिलाएको छ ।