
तीन वर्षभित्र सक्नेगरी ८ सहरमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढाइसक्यौँ : मन्त्री लम्साल
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइट सहित क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढाइसकेको बताएका छन् ।
आजदेखि सुरु हुने एनपीएलको शुभकामना दिँदै कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको जानकारी गराए ।
उनले भनेका छन्, ‘चार्डपर्वहरूका बीच नेपाली क्रिकेटको पर्व, नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ। होम एन्ड अवे’ आधारमा खेल सञ्चालन गर्न सकिने गरी देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइट सहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको छ ।’
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको योजनाले एनपीएललाई देशभर विस्तार गर्दै नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने विश्वास लिएको बताए। उनले क्रिकेट सङ्घ (क्यान)ले पनि सोही अनुरूप आवश्यक तयारी अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।


