

टेक एण्ड पे होइन, टेक अर पे नै ठिक छ : अपि पावरका सीईओ न्यौपाने




काठमाडौं । अपि पावर कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित दार्चुला पावरद्धारा निर्माण हुन लागेको २८.३ मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजनाको लगानी जुटेको छ । त्यस्तो लगानीका लागि नेपाल बैंकको नेतृत्वमा नविल बैंक ऋण लगानी गर्न तयार भएको अपि पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ संजिव न्यौपाने बताएका हुन् ।
टेक एण्ड पे होइन, टेक अर पे नै ठिक छ
अपि पावरका सीईओ न्यौपानेले बीमा दर्पण डटकमलाई सुनाए, स्वदेशमा निमार्ण हुने भौतिक पूर्वाधार होस् या भनौ जलविद्युत क्षेत्र यी सबै देश विकासका मुख्य मेरुदण्ड हुन् । यसमा सबैले हातेमालो गर्नु आवश्यक छ ।
सीईओ न्यौपानेले थपे, बजेट वक्तव्यमा टेक एण्ड पेको आधारमा मात्रै गर्ने नीति लिइएको छ । यसबाट राज्यले हामीलाई लत्याएको जस्तो अनुभुती भएको छ । टेक एण्ड पे होइन टेक अर पे मै टीपीए गर्ने हो भने राज्यले राखेको १० वर्षमा २८ हजार ५ सय मेगावाटको लक्ष्य हाँसिल गर्न सहज हुन्छ ।
यता, बुधबार साँझ आयोजना प्रवद्र्धक कम्पनी तथा ऋण लगानीकर्ताबीच वित्तीय सोही व्यवस्थापनसम्वन्धी सम्झौता भएको थियो भने उक्त कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का तथा दार्चुलाबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका साँसद दिलेन्द्रप्रसाद बडु पनि सहभागी रहेको जनाइएको छ।
नेपाल बैंक र नविल बैंकले मध्य चमेलियाका लागि कुल लागत पाँच अर्ब ६६ करोडको ७५ प्रतिशत बराबरको ऋण लगानी गर्न सहमत भएको बेलामा दार्चुला पावरमा सोही पुँजीको २५ प्रतिशतमा ५१ प्रतिशत अपि पावर कम्पनीको लगानी हुने जनाइएको हो । यता, १९ प्रतिशत अन्य जलविद्युत प्रवर्द्धक र बाँकी सर्वसाधारण एवं स्थानीयको लगानी हुने प्रावधान अघि सारीएको छ।
न्यौपानेले प्रतिमेगावाट २० करोड रुपैयाँ लागत अनुमान गरिएको सोही आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न हुने तयारी गरिएको बताएका छन् भने उनले आयोजनाबाट बार्षिक १८५ गिगावाट विद्युत उत्पादन हुने र नौ बर्षमा १३३ करोड आम्दानी हुने आँकलन समेत गरेका छन् ।
हाल दार्चुलाको मार्मा गाउँपालिकाको चमेलिया नदीमा निर्माण हुने सोही आयोजनाको विद्युत खरिद बिक्री सम्झौता २०८० माघ १ मा नै भएको उनले सुनाएका हुन् ।