
स्वास्थ्य बीमामा अब सरकारी कर्मचारीको आबद्धता अनिवार्य, मन्त्रालयले पठायो पत्र
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा सरकारी कर्मचारीलाई अनिवार्य आबद्ध गराइने भएको छ । यसका लागि आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन सम्बन्धित निकायमा समन्वय गर्न अनुरोध गरेको हो । यसअघि नियममा भए पनि सरकारी कर्मचारीहरूलाई अनिवार्य आबद्ध गराइएको थिएन ।
पत्रमा नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पत्राचार, समन्वय र सहजीकरण गरिदिन आग्रह गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्दै सरकारी सेवामा कार्यरत कर्मचारीको स्वास्थ्य बीमामा आबद्धता विस्तार गर्ने उद्देश्यले मन्त्रालयले यस्तो पहल गरेको हो ।
यस्तै सरकारी अस्पतालका कर्मचारीलाई पनि स्वास्थ्य बीमामा आबद्ध हुन मन्त्रालयले पत्राचार गरेको छ । मन्त्रालयले सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य सङ्घीय निकायमा कार्यरत सरकारी कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको हो । सरकारी सेवामा कार्यरत सबै कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।


