

बढाइयो निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद




काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ऋणपत्रमा आवेदन दिने म्याद बढाइएको छ। यता,आजसम्म ऋणपत्रमा आवेदन दिने समय भएपनि एक दिन थप भएका कारण भोली २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । जेठ १८ गते भोटो जात्रा परेको र सरकारले उपत्यकामा सार्वजनिक विदा दिएका कारण आवेदन दिने समय थपिएको कम्पनीले जनाएको हो।
निफ्राले जेठ १८ गतेदेखि प्रति एकाई १ हजार रुपैयाँका दरले ५ अर्ब रुपैयाँको ५० लाख एकाई ऋणपत्र निष्कासन गरेको छ । जसमा ३० लाख एकाई आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ ।
बाँकी २० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । १ लाख एकाई सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसमा न्यूनतम २५ देखि अधिकतम १० लाख एकाईसम्म आवेदन दिन सकिनेछ ।
निफ्राले ७ वर्ष अवधिको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९’ नामको ऋणपत्र निष्कासन गरेको छ ।
साथै, यसमा वार्षिक ६ प्रतिशत ब्याज पाइने छ । यसको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल छ । आवेदन दिँदा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने जनाइएको हो।