

प्रथम बीमाशुल्क संकलनमा आक्रामक बन्दै जीवन बीमा कम्पनीहरु, २७ अर्बबढी रकम संकलित




काठमाडौं । विश्वमा अनेकौं प्रकारका जोखिमहरु देखा पर्ने गरेका छन् । यो भनाई केबल सुन्नका लागि मात्र नभई विश्वमा खुलेका नयाँ नयाँ ठूला अस्पताल र बैज्ञानिक दृष्टिकोणका खोज र निर्माणहरुले पनि सहजै प्रमाणीत गरेको छ । कोरोना महामारीको कहरपछि नेपालमा अधिकांश व्यापार व्यवसायहरु चौपट हुन पुगे, महामारीले पनि लामै समयसम्म कतिपय उद्योगहरुलाई स्थायी, अस्थायी रुपमा धक्का दियो । तर, विश्वमा बढ्दो जोखिमको सँगसँगै त्यसको रक्षावरण गराउनेहरुको संख्या बढ्ने गरेको बीमा क्षेत्रका अनुभवीहरुले सुनाउने गरेका छन् ।
ठीक यस्तै बेलामा नेपालमा पनि अन्य व्यवसाय प्रभावित भएको बेलामा पनि नागरिकले जीवन बीमा गर्ने र त्यसको नविकरण गराउने क्रम बढेकै छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकलाई आधार मान्दा जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा २७ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन्। संचालित १४ वटै जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक बर्षको १० महिनामा सो रकम आर्जन भएको हो।
यता, अधिकांश अवस्थामा नेपाली बीमा क्षेत्रमा हरेक सूचकमा अग्रणीस्थानमा रहेको नेपाल लाइफले यसपालि पनि आफ्नो विरासत कायमै गरेको छ । उसले सबैभन्दा धेरै नयाँ बीमा व्यवसाय ल्याउँदै १० महिनामा ६ अर्ब ८३ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको देखिन्छ।
नेपाल लाइफलाई पछ्याउँदै अर्को ठूलो जीवन बीमा कम्पनी नेशनल लाइफले समेत समिक्षा अवधिमा ४ अर्ब ९ करोडको बीमाशुल्क संकलन गर्न सफल भएको छ।
नेशनल लाइफ पछि तेस्रोमा स्थानमा भारतीय सरकारको समेत लगानी रहेको एलआईसी नेपाल रहेको छ भने उसले समिक्षा अवधिमा २ अर्ब १३ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको हो।
यी तीन वटै टप थ्री बीमा कम्पनीहरु मर्जरबाट स्थापित भएका होइनन् । एक्लै यात्रा गरेका यी ठूला कम्पनीहरुले नेपाली बीमा बजारमा पटक पटक आफ्नो ऐतिहासीक विरासत कायम गर्नेदेखि बजारमा नयाँ ट्रेण्ड सेट गर्न समेत सफल भएको देखिन्छ ।
साथै, टप थ्री जीवन बीमा बाहेक सूर्य ज्योति लाइफले २ अर्ब ५ करोड रुपैयाँ संकलन गरेको बेलामा हिमालयन लाइफले १ अर्ब ९२ करोड रुपैयाँ संकलन गर्न सफल भएको हो ।
त्यस्तै, सिटिजन लाइफले १ अर्ब ५४ करोड रुपैयाँ तथा एशियन लाइफले १ अर्ब ३९ करोड रुपैयाँ संकलन गरेको बेलामा सानिमा रिलायन्स लाइफले १ अर्ब ३३ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफले १ अर्ब १८ करोड रुपैयाँ संकलन गरेका हुन् ।
यता, मेट लाइफले १ अर्ब ११ करोड रुपैयाँ संकलन गरेको बेलामा प्रभु महालक्ष्मी लाइफले १ अर्ब ७ करोड रुपैयाँ संकलन गरेको छ भने आइएमई लाइफले १ अर्ब ३ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ९२ करोड रुपैयाँ संकलन गरेका छन् ।
साथै, समिक्षा अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सले ८० करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको तथ्यांकले देखाउँछ ।